
काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को बैठक बालुवाटारमा जारी छ ।
बैठक बिहीबार बिहान ८ बजेदेखि सुरू भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार पार्टी पदाधिकारी बैठक मंगलबारदेखि जारी छ । बैठकमा ‘जनतासँग माओवादी रूपान्तरण अभियान’बारे ब्रिफिङ, समसामयिक राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल भइरहेको छ ।
उक्त छलफलबाट लिने निर्णयका लागि आज पनि बैठक बस्ने सापकोटाले बताए ।
गत मंगलबारदेखि बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिवेदनमाथि छलफल हुँदै आएको छ ।
आजको बैठकमा राष्ट्रियसभा निर्वाचनको तयारी, जारी तीन महिने अभियानको समीक्षा, सरकारको एक वर्षे कार्यकालको समीक्षा, विधान सम्मेलनलगायतका एजेन्डामा छलफल हुँदैछ । छलफल पश्चात् पार्टीले आधिकारिक निर्णय सार्वजनिक गर्ने बताइएको छ ।
यद्यपि बैठकमा सहभागी एक पदाधिकारीले तीन महिने अभियानबारे सामान्य ब्रिफिङ भए पनि गम्भीर छलफल नभएको बताए ।
‘हामीले हर्षोल्लासका साथ जनतासँग माओवादी रूपान्तरण अभियान चलाइरहेका छौँ, यो अभियानले हामीमा उत्साह र जनतामा आशा पलाएको छ । तर, अधिकांश पदाधिकारी कमरेडरू अभियानबारे खासै चासो देखाउनुहुन्न्, यसले हामीलाई अधोगतिमा धकल्ने छ,’ उनी भन्छन्, ‘हामी यतिबेला राष्ट्रियसभा निर्वाचन भन्दा जारी अभियानलाई केन्द्रमा राख्नुपर्छ । यसले हामीलाई जीवन दिन्छ ।’














