काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती नेपाल एयरलाइन्सलाई तिर्नुपर्ने रकम सरकारले नै नतिरेको बताएका छन् ।
बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले भने, ‘राजादेखि लोकतान्त्रिक व्यवस्थामा पनि उही प्रवृति देखियो । नेपाल एयरलाइन्स उडाउने तर भाडा चाहिँ नतिर्ने ।’

प्रयोगमा नरहेका चिनियाँ जहाज लिलामीमा आफूले नै राख्न लगाएको उनले बताए । ‘चलाउन नसक्ने जहाज किन सुकाएर राख्ने ? कि सुप खाने हो ? मैले नै दबाब दिएर लिलामीमा राख्न लगाएको हो, यसलाई किन राख्ने ? जसले दायित्व मात्र सिर्जना गर्छ, त्यो पालेर के काम ?’
निगमको ऋण ४९ अर्ब रहेको भन्दै उनले एक वर्षमा २२ अर्ब कमाएको बताए । उनले भने, ‘अलिकति प्रयास गरे त एक वर्षमै ऋण आधा तिर्न सकिने सम्भावना छ, हामीलाई काम गर्न दिनुस् ।’
कानुन बनाउने प्रक्रिया धेरै ढिला भएको भन्दै उनले मन्त्रालयबाट उठेको विधेयक अर्थ, कानुन मन्त्रालयमा झुन्डिएर बसेको बताए । उनले भने, ‘एउटा कानुन बनाउन ४÷५ वर्ष लाग्छ, हामी उल्टो बाटोमा छौं । ’














