Logo
Logo

धमिरोले बनाएको चित्र




मेरो घरको भित्ता,
खाँबो र दलिनमा
जताततै, सर्वत्र
धर्कै धर्काहरू देखिएका छन्
कुनै महान् रङ्गकर्मीको पेन्टिङजस्तो
म टोलाइरहेको छु
आफैसँग प्रश्न गरिरहेको छु
यो विचित्रको चित्र देखेर
अब मेरो घर के होला ?
प्रत्येक दिन रोग बढेजस्तो
क्यान्सरले नयाँ कोलोनी बनाएजस्तो
यी धर्काहरू फैलिरहेका छन्
कहिले एउटा खाँबोमा
त कहिले अर्को खाँबोमा
भित्तामा, दलिनमा र ढोकामा
बढेको बढ्यै छन्
म मूक दर्शक बनेर
आफ्नै घर हेरिरहेको छु

केही नलागेपछि सोधे
यी कस्ता चित्रहरू हुन् भनेर
उनले भने– ‘समाजवाद’
मैले सोधे के हो समाजवाद ?
उनले भने–
कामेकालाई ताप दिने
गरिबलाई राप दिने
सबै बराबर– वारपार
म झन् जिल्ल पर्दै गए
उनी अरू भन्दै गए
शक्ति लिने जादुगरी मन्त्र
सबैलाई सम्मोहित गर्ने अस्त्र
अनि मेवा आफू खाने
सेवा जनताको भनेर
आँप आफू खाने
खोस्टो जनतालाई बाँड्ने
समाजवादको यो चित्र
यसरी कोरिन्छन् घरका भित्ताहरूमा

मैले फेरि सोधे– यी कोर्ने कसरी आए ?
उनले भने– जमिनमुनिबाट
घरको वरिपरिबाट टनेल बनाएर
यिनको समाजवादमा पुग्दा
घर गाम्राङगुम्रुङ ढल्ने छ
मैले सोधे– घर कसरी बचाउने ?
उनले भने– धमिरा हटाएर
मैले फेरि सोधे– कसरी हटाउने ?
उनले अन्तिम पटक भने–
यी धमिराको टनेल ध्वस्त पारेर ।

प्रतिक्रिया दिनुहोस्