Logo
Logo

नयाँ स्टक एक्सचेञ्ज लाइसेन्सका लागि धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई अनुरोध गर्ने


189
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने भन्दै आवश्यक निर्णय गरिदिन सरकारलाई अनुरोध गर्ने भएकाे छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोर्डले अध्ययन गरेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाएकाले आवश्यक निर्णय गरिदिन अर्थ मन्त्रालयमार्फत सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

गत बैशाख २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले थप अध्ययन गर्नुपर्ने भन्दै स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिएको थियो । सोहीअनुसार बोर्ड सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोक्न निर्णय गरेको थियो ।

लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको ७ महिनापछि शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले स्टक एक्सचेञ्जको लाइसेन्सको विषयमा आवश्यक निर्णय गरिदिन भन्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

अर्थ मन्त्रालयले बोर्डको पत्रलाई थप स्पस्ट बनाउन भन्दै मन्त्रिपरिषद्मा नलगी धितोपत्र बोर्डमा फिर्ता पठाएको थियो । स्टक एक्सचेञ्जको लाइसेन्सका लागि अध्ययन गर्न आवश्यक छ कि छैन भनेर समेत मन्त्रालय बोर्डसँग स्पस्ट हुन खोजेको थियो ।
उक्त बैठकमा अर्थ मन्त्रालयको पत्रको जवाफका सम्बन्धमा छलफल गरी बोर्डको व्यवस्थापनको अधिकारीलाई निर्णयको माइन्युट तयार गर्नेगरी छलफल सकिएको थियो । तर, उक्त निर्णयमा माइन्युट हुन अलमल भएपनि शुक्रबार सोही विषयसहित छलफल गर्नेगरी बोर्ड सञ्चालक समितिको बैठक बसेको थियो ।

बोर्डले अध्ययन गरेर लाइसेन्स दिन लागेको भन्दै थप अध्ययन गर्न आवश्यक नरहेको र नेपाल सरकारले अध्ययन गर्न आवश्यक देखेमा सोही अनुसारको निर्णय गर्न आग्रह पत्रमार्फत अर्थ मन्त्रालयलाई पठाउने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्