काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको आर्थिक रुपान्तरणका लागि डिजिटल रुपान्तरण र डिजिटल इकोसिष्टम निर्माण आवश्यक रहेको बताएकी छन् । त्यसका लागि सरकार आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्थ गर्नतिर लागेको उनको भनाइ छ ।
लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्डको आठौं सस्करणलाई सबोधन गर्दै उनले सरकारले सूचना तथा सञ्चार प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा लिएको स्पष्ट पारिन् ।

जनताका दैनिक आधारभूत आवश्यकतालाई सहज र सरल बनाउनेदेखि संसारसँग प्रतिस्पर्धा गरेर डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्वपूर्ण आधार हो भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘हामीले अन्य उद्योगधन्दा खोल्यौं भने आजको आजै विश्वसँग प्रतिष्पर्धा गर्न सक्दैनौँ । तर सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा निर्यात गरेर हामीले विश्वसँग प्रतिष्पर्धा गर्न सक्छौँ भन्ने विगत केही वर्षयताका अनुभवबाट पुष्टि भइसकेको छ ।’
उनले यसलाई अझै बढाउँदै सूचना प्रविधिलाई डिजिटल अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधारको रुपमा स्थापित गर्न अब सामान्य सुधारले नभई यस क्षेत्रमा डिपार्चर नै गर्नुपर्ने बताइन् । यही वर्ष पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित गरेर त्यसलाई कार्यान्वयन गर्न साइबर कानुन निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पहल अघि बढाएको उनले जानकारी दिइन् ।
सूचना प्रविधि, दूरसञ्चार, सामाजिक सञ्जालको व्यवस्थापनलगायतका अन्य कानुन पनि जतिसक्दो चाँडो निर्माण गरेर आफूहरु सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा डिपार्चर गर्ने पक्षमा रहेको मन्त्री शर्माले जानकारी दिइन् ।
डिजिटल नेपाल फ्रेमवर्क २०७६ सालमा स्वीकृत भएर पनि यसले आशातित गति लिन नसकेकाले यसमा पुनरावलोकन गरेर भएपनि अघि बढ्नपर्छ भनेर सोही अनुसार पहल थालेको उनको भनाइ छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल पूर्वाधारको क्षेत्रमा गम्भीरताका साथ काम अघि बढाएको जानकारी दिँदै मन्त्री शर्माले यसरी नै यसका अन्य पहलहरु कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारलाई पनि सम्बन्धित निकायले अघि बढाउन सके डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनले गति लिने छ विश्वास व्यक्त गरिन् ।
सरकारको तर्फबाट यो वर्ष अहिलेसम्म सूचना प्रविधि क्षेत्रका स्टार्टअपहरुलाई प्रोत्साहन गर्न आइसिटी एक्जिविसन र डिजिटल च्याम्पियनजस्ता कार्यक्रम राख्ने तयारी गरेको जानकारी दिँदै उनले यसबाट देशैभरिका स्टार्टअपहरुको प्रतिष्पर्धा गराउने र उत्कृष्ट हुनेहरुलाई कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र सहरी पूर्वाधारजस्ता डिजिटल फ्रेमवर्कका विभिन्न पहलहरुमा नवप्रवर्तनका काम गर्न लगाउने गरी तयारी थालेका बताइन् ।
युवालाई देशिभत्रै बस्न र रोजगारी दिन सहज हुनेगरी सातै प्रदेशमा डिजिटल स्किलका कार्यक्रम राख्ने तयारी गरिएको पनि मन्त्री शर्माले जानकारी दिइन् ।














