Logo
Logo

डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पणलाई सदुपयोग गर्ने माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भएको बताएका छन् । यस क्षेत्रमा प्रशस्त सम्भावना भएको उल्लेख गर्दै उनले डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिएको बताए ।

सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै अर्थमन्त्री डा महतले भने, ‘डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ । जो उत्पादनमा लागेका छन्, उनीहरूले डिजिटल प्लेटफर्ममार्फत बजारमा सजिलै पहुँच पुर्याउन सक्छन् । न्यून खर्चमा आम्दानी बढाउन सक्नेछन् ।’

सरकारले आइटी नीतिलाई चालु आवको बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगेको उनको भनाइ छ । अर्थमन्त्री डा महतले भने, ‘यसमा हामीले न्यूनमात्रै कर लगाउने व्यवस्था गरेका छौँ । त्यसबाट यो व्यवसायले फड्को मार्दैछ र नेपाल बाहिर पनि सुरुआत गर्न चाहन्छ, उनीहरूका लागि पनि आफूले कमाएको आम्दानीको केही हिस्सा बाहिर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।’

राज्यले दिएको यो सुविधाले आइटी बिजनेस बढाउन मद्दत पुग्ने मन्त्री डा महतले बताए । उनका अनुसार यसले बिजनेस सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ । आउँदा दिनमा आइटी नीति अझ सहज हुने बताउँदै मन्त्री डा महतले भने, ‘नेपाली युवालाई जुन क्षेत्रमा उहाँलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सरकार तयार छ ।’

नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै उनले भने, ‘अहिले ठूलो मात्रामा विदेश सफ्टवेयर निर्यात हुँदैछ । जसले गर्दा विभिन्न क्षेत्रको विजनेस व्यवसाय सहज हुँदैछ, लागत घट्दैछ । यसमा सरकारले सकेसम्म योगदान दिनुपर्छ ।’ यसको संस्थागत विकासमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका रहेकाले उनीहरूको पलयान रोक्न पनि थप प्रवर्द्धन गर्न जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्