Logo
Logo

फिल्मकर्मी रोज राणा बने उद्योगमन्त्री



काठमाडौं । फिल्म निर्माता तथा निर्देशक रोज राणा लुम्बिनी प्रदेश सरकारको उद्योगमन्त्री बनेका छन् । सरोज थापा उर्फ रोज राणा नेपाली कांग्रेसबाट उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका हुन् ।

निर्माता रोज राणा प्युठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । रोज कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा माओवादी केन्द्रका कृष्णा केसीलाई सहरी विकासमन्त्री र कांग्रेसका सरोज थापा (रोज राणा)लाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त दुवै मन्त्रीलाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका छन् ।

रोज राणाले पछिल्लो समय लकडाउनलगतै नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । तर, राजनीतिमा व्यस्त भएपछि उनी फिल्मी क्षेत्रबाट टाढा भएका थिए ।

कुनै समय रेष्टुरेण्ट व्यवसायिक समेत रहेका रोज राणाले ‘दादागिरी, डन, खलनायक, महान, टक्कर दुई मुटुको, म छुन तिम्रो’ लगायतका फिल्ममा लगानी गरेका छन् । यस्तै, उनले फिल्म ‘मेरो पैसा खोई र जय परशुराम’को निर्देशन पनि गरेका थिए । फिल्म ‘टक्कर दुई मुटुको’मा अभिनयसमेत गरेका रोजले ‘जय परशुराम’ असफल भएपछि फिल्म निर्माण गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्