काठमाडौं । नेकपा माओवादी केन्द्र का सांसद देवेन्द्र पौडेलले निजामती कर्मचारीको भन्दा शिक्षकको तलब बढी हुनुपर्ने बताएका छन् ।
आज आइतवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद पौडेलले शिक्षकको तलब एक रुपैयाँले भए पनि कर्मचारीको भन्दा बढी हुनुपर्ने धारणा राखेका हुन् ।

उनले विद्यालय बनाउने जिम्मेवारी शिक्षकको भएको भन्दै शिक्षक खुशी भएर विद्यालय नगएसम्म र राम्रो सेवा सुविधा नपाएसम्म उनीहरूले सङ्गठनात्मक गतिविधि गरिरहने बताए । त्यसो हुँदा शिक्षण सिकाइमा स्तरीयता पनि नहुने सांसद पौडेलको भनाइ छ ।
उलने भने, ‘विद्यालय बनाउने भनेका शिक्षक नै हुन् । हामीलाई चित्त बुझोस्, नबुझोस् । जबसम्म शिक्षक खुशी भएर विद्यालयमा प्रवेश गर्दैनन्, राज्यको राम्रो सेवा सुविधा नपाएसम्म उनीहरू सङ्गठनात्मक गतिविधि गरिरहन्छन् । एक रुपैयाँले भए पनि शिक्षकको तलब कर्मचारीको भन्दा बढी हुनुपर्छ भन्ने पक्षमा छु म । राज्यले त्यसरी प्रोत्साहन नगर्ने हो भने शिक्षा प्रणाली अरूले सुधार्न सक्दैन ।’
सांसद पौडेलले कार्यालय सहयोगी, लेखापाल र प्रारम्भिक बालविकास शिक्षकको समस्या पनि विद्यालय शिक्षा ऐनले समाधान गर्नेगरी आउनुपर्ने बताए ।














