Logo
Logo

पुटिनद्वारा पुनः राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा, विपक्षी नेता बेपत्ता हुनुमा आशंका


एजेन्सी


मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ मा हुने चुनावमा पुनः उम्मेदवारी दिने घोषणा गरेपछि रुसका पूर्वउपऊर्जामन्त्री भ्लादिमिर मिलोभले रूसी विपक्षी नेता एलेक्सी नाभाल्नी बेपत्ता हुनु ‘कुनै संयोग’मात्र नभएको बताएका छन् । १७ दिनदेखि हराइरहेका रूसी विपक्षी नेता नाभाल्नी शुक्रबार भिडियो लिङ्कमार्फत अदालतमा भएको दुई सुनुवाइमा अनुपस्थित रहेको उनको टोलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाभाल्नीलाई मस्कोको पूर्वमा रहेको एक दण्डात्मक उपनिवेशमा राखिएको थियो र उनलाई ‘अतिवादी समुदाय सिर्जना गरेको, चरमपन्थी गतिविधिलाई वित्तपोषण गरेको’ र अन्य थुप्रै अपराधमा दोषी ठहर भएपछि अगस्टमा १९ वर्षको जेल सजाय सुनाइएको थियो ।

मिलोभले भने, ‘मलाई लाग्छ यो सुनियोजित रणनीति हो । यो कुनै संयोग होइन । नाभाल्नी ठीक त्यही क्षण गायब भएका थिए, जतिबेला तथाकथित राष्ट्रपति चुनावको घोषणा गरिएको थियो र पुटिनले फेरि चुनाव लड्ने घोषणा गर्नुभयो ।’

‘वास्तवमा पुटिनले अर्को कार्यकालका लागि धम्की, दमन, समाजमाथि दबाब दिएर क्रेमलिन प्रवेश गर्न लागेका छन् र यो स्पष्ट रूपमा सबै विपक्षी शक्तिहरूको लागि ‘नकारात्मक सन्देश’ हो’ मिलोभले भने ।

नाभाल्नीको टोलीले टेलिग्रामपोस्टमा भनेको छ, ‘नाभाल्नी १७ दिनदेखि हराइरहनुभएको छ । आज एलेक्सीले दुई सुनुवाई गर्नुपर्ने थियो । उहाँलाई फेरि अदालतमा ल्याइएन । नाभाल्नी आफ्ना साथीहरूसँग यति लामो समयसम्म सम्पर्कमा नआएको पहिलो घटना हो ।’

नाभाल्नीको अनुपस्थितिको लामो अवधिले उनको स्वास्थ्य र सुरक्षाको बारेमा पनि चिन्ता उत्पन्न गरेको छ । सीएनएनका अनुसार नाभाल्नी केही दिनदेखि हराइरहेकाले उनका सहयोगीहरूले उनको वर्तमान स्थान वा स्थितिको बारेमा पूर्ण र भरपर्दो विवरणको लागि क्रिप्टोकरेन्सी इनामको प्रस्ताव गर्दै जानकारीको लागि पुनः सूचना जारी गरेका छन् ।

नभाल्नीको अनुपस्थितिबारे गत हप्ता पटक–पटक सोधिएको प्रश्नमा क्रेमलिनले भनेको छ, ‘राज्यले न त कैदीहरूको भाग्य र सम्बन्धित संस्थामा उनीहरूको बसाइको प्रक्रियाको निगरानी गर्ने उद्देश्य राख्दैन ।’ सीएनएनका अनुसार नाभाल्नीले दुई दशकभन्दा लामो शासनकालमा पुटिनको वैधानिकताका लागि सबैभन्दा गम्भीर चुनौती खडा गरेका थिए ।

सन् २०२० मा सोभियत कालको नोभिचोक नामक विष (नर्भ एजेन्ट) खुवाएपछि उनलाई रूसबाट जर्मनी लगिएको थियो । नाभाल्नीलाई साइबेरियाको ओम्स्क शहरबाट गम्भीर अवस्थामा हेलिकप्टरमार्फत उद्धार गरी बर्लिनको अस्पतालमा लगिएको थियो ।

सीएनएनका अनुसार नाभाल्नी सन् २०२१ को जनवरीमा रुस फर्केपछि उहाँलाई सन् २०१३ मा उनीविरुद्ध ल्याइएको जालसाजीसम्बन्धी मुद्दासँग सम्बन्धित प्रोबेशनका शर्तहरू उल्लंघन गरेको अभियोगमा तत्काल जेलमा राखिएको थियो । उनले युक्रेनविरुद्ध रूसको युद्धको विरुद्धमा जेलबाटै अभियान चलाएको र युद्धको सार्वजनिक विरोध जुटाउने प्रयाससमेत गरेको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्