काठमाडौँ । प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी, कांग्रेस र एमालेका नेताहरूबीच बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा टीआरसीको बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी छन् । नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेता अग्नि खरेल र संसदीय दलका सचेतक महेश बर्तौला सहभागी छन् । नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक हाल प्रतिनिधिसभाको समितिमा विचाराधीन छ । विधेयकका अन्तर्वस्तुमा प्रमुख दलहरुबीच सहमति नजुट्दा विधेयक अघि बढ्न सकेको छैन ।
यस विषयमा आइतबार पनि प्रमुख तीन दलका शीर्ष नेताले छलफल गरेका थिए । नेताहरुको सहमति अनुसार सोमबार शीर्ष नेतासँगै अन्य नेताहरु पनि सहभागी बैठक बसेको हो ।














