काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताएका छन् ।
२०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहको परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान र गौरव भएको बताए ।
प्रधानमन्त्री दाहालले नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधि नेपालका अमूल्य निधि भएको बताए । उनले भने, ‘नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहको साझा देश हो । भौगोलिक रूपमा सानो भए पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदा र सामाजिक बनोट विश्वमै नमूना रहिआएको छ ।’

नेपाल जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अङ्गका रुपमा लिएको प्रधानमन्त्री दाहालले बताए ।
उनले भने, ‘राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौँ उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।’
सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कार चल्दै आएकाले यो नेपाली समाजको अभिन्न अङ्ग भइसकेको विचार व्यक्त गरे ।
ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व भएको उल्लेख गर्दै उनले यसै कुरालाई मनन गरी सरकार संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री दाहालले काठमाडौँ महानगरपालिकाभित्रका ज्यापुले विभिन्न बाधा अड्चनका बाबजुद पनि परम्परागत मौलिक संस्कृतिको जगेर्नाको प्रयासलाई सरकारले कदर गर्दै आएको बताए ।














