
काठमाडौं । नेपाली सिने जगत् र गुण्डागर्दीमा प्रख्यात नाम हो, रोज राणा । उनको खास नाम चाहिँ सरोज थापा हो । घर प्युठान । एक समय ‘गुन्डा नाइके’का रुपमा प्रख्यात थिए ।
काठमाडौंमा बसेर लामो समयदेखि गुण्डागर्दी गरिरहेका रोज केही दिन अगाडि लुम्बिनी प्रदेशको उद्योग वाणिज्य तथा यातायात मन्त्री बनेका छन् । गुन्डा नाइकेलाई नेपाली कांग्रेसले मन्त्री बनाएको हो । यसको सर्वत्र आलोचना भइरहेको छ ।
त्यसो त, रोज त्यसै मन्त्री बनेका होइनन् । २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसबाट टिकट पाएर गठबन्धनको भोटले प्युठानबाट निर्वाचित भएका हुन् । प्रदेशसभा सदस्य बनेका व्यक्ति स्वाभाविक मन्त्रीका दाबेदार हुन्छन् ।
माओवादी मार्ने सुराकी
जनयुद्धको बेला प्युठानमा रोज राणा माओवादी विरुद्ध तत्कालीन शाही नेपाली सेनालाई सूचना दिने ‘सुराकी’ थिए । सुराकी गरेको थाहा पाएपछि माओवादीले ‘सफाया’ गर्ने तयारी गरेपछि भागेर काठमाडौं आएका उनी गुण्डागर्दीमा जमे ।
प्युठानमा रहँदा रोजकै सुराकीका कारण केही माओवादी नेता कार्यकर्ता सेनाबाट मारिएको माओवादीको रेकर्ड छ । २०७९ सम्म आइपुग्दा भने उनै माओवादीका सुराकी माओवादीको भोटबाट प्रदेशसभा सदस्य निर्वाचित भए ।
युवतीलाई नाङ्गै नचाउँथे
सुरुमा फिल्म निर्माताको छवि बनाएका रोज रात्रिकालीन मनोरञ्जन व्यवसायमा समेत जमेका थिए ।
एक समय काठमाडौंमा ‘नग्न डान्सबार’ खुब प्रख्यात थियो । जानकारहरूका अनुसार काठमाडौंका डान्सबारमा युवतिलाई नाङ्गै नचाउने रोज पहिलो व्यक्ति थिए ।
रोजले काठमाडौंको बागबजारमा ‘टप भिआइपी डान्सबार’ सञ्चालन गरेका थिए । उक्त डान्सबारमा प्रहरीले छापा मारेर धेरै युवतिलाई नाङ्गै पक्राउ परेको थियो ।
पक्राउ परेका युवतिहरूले प्रहरी समक्ष रोजले धम्की दिएर नाङ्गै नाच्न बाध्य बनाएको बयान दिएका थिए । सोही बयानका आधारमा रोज मानव बेचबिखन मुद्दामा ७ महिना जेल बसे ।
डन ‘चरी इन्काउन्टर’का सुराकी
चलचित्र निर्माण र रात्रिकालीन व्यवसाय चौपट भएपछि रोज निखुर गुण्डागर्दीमा मात्र देखिए । तर, धन्दा रोकिएन । गुण्डागर्दीको आडमा अनेक धन्दा चलाए ।
त्यो समय दिनेश अधिकारी ‘चरी’, सुजन पौडेल ‘रमेश बाहुन’ लगायतका गुन्डाहरूको जगजगी थियो । उनीहरूकै आसपासमा गुण्डागर्दी गरिरहेका थिए, रोज ।
देशमा गुन्डाहरूको गतिविधि बढेपछि प्रहरीले एक–एक गर्दै सफाया गर्ने नीति लियो । र, चरी, बाहुन र रोजहरू भारतमा लुके । तर, बिस्तारै वातावरण बनाउँदै उनीहरू देश फर्के । त्यसै क्रममा रोज पनि देश फर्केका थिए ।
देश फर्केर लुकीछिपी प्रहरी समक्ष आत्मसमर्पणको तयारीमा रहेका चरी प्रहरीको इन्काउन्टरमा मारिए । चरी नेपाल छिरेको सूचना उनै रोज राणाले प्रहरीलाई दिएको तत्कालीन सुरक्षा नेतृत्वले बताउने गरेका छन् ।
२०७३ साउन ३१ गते मध्यबानेश्वरको एक रेस्टुरेन्टमा रोजमाथि खुकुरी प्रहार भएपछि यो कुरा पुष्टि भयो । प्रहरीलाई सुराकी गरेर चरीलाई इन्काउन्टर गराएको भन्दै चरी समूहले उनको हात छिनाउने तयारीका साथ खुकुरी प्रहार गरेका थिए । यो घटनामा पक्राउ परेका दुई अभियुक्तले यो खुलासा गरेका थिए ।
त्यसपछि जिल्ला फर्केर मन्त्री भए
प्रहरीले गुन्डामाथि इन्काउन्टर सुरु गरेपछि मारिने डरले रोज राजनीतिक लाइन मिलाएर जिल्ला फर्के । उनको राजनीतिक जीवन तय गर्न कांग्रेस नेता आरजु देउवा राणाको ठूलो देन छ ।
रोज नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पत्नी आरजुका प्रिय पात्र हुन् । आरजुकै छत्रछायामा रोज छोटो समयमै प्युठान २ को पार्टी सभापति भए । त्यसपछि उनको राजनीतिक यात्रा सुरु भयो ।
२०७९ मा कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित भएपछि उनी बारम्बार मन्त्रीका लागि प्रयासमा रहे । यसै क्रममा आरजुकै जोडमा उनी लुम्बिनीका मन्त्री बनेका हुन् ।














