
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आह्वान गरिएको छ । आज (बुधबार) बिहान ११ बजे बस्ने गरी उक्त समितिको बैठक आह्वान गरिएको पार्टी प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार सातौँ केन्द्रीय समिति बैठक आजदेखि सुरू हुने भएको छ । पर्सि (तीनदिन)सम्म चल्ने बैठकमा पार्टीको विधानमाथि आवश्यक छलफल, आसन्न महाधिवेशनका लागि निर्णय लिन बैठक आह्वान गरिएको हो ।
बैठकमा देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक राजनीतिक घटनाक्रम र त्यसले निम्त्याएका परिस्थितिबारे छलफल हुने महासचिव घनश्याम भुसालले बताए ।
यसका साथै आसन्न माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उमेदवार छनोटका लागि मापदण्ड तय गर्ने, पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांठनिक प्रतिवेदन पेस गर्ने बैठकको एजेन्डा रहेको बताइएको छ ।
एकीकृत समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।














