काठमाडौं । काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरूद्धको जर्बजस्तीकरण सम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेको हो ।
गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ ।

बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन्।सर्वोच्च अदालतले यो मुद्दालाई फास्ट ट्रयाक अर्थात प्राथमिकतामा राखेर छिटोभन्दा छिटो टुंगो लगाउनसमेत आदेश गरिसकेको जर्बजस्तीकरण सम्बन्धी मुद्दा लम्बिँदै गएको छ ।
२०७९ कात्तिकदेखि क्रिकेटर लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा ४० पटकसम्म पेसी चढिसकेको छ । जिल्ला अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाई हुँदै गरिरहेको टिप्पणी भएको छ ।
अन्तिम बहसका लागि दैनिक पेशीमा चढेको मुद्दामा आज सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीबाट बहस भएको थियो। मुद्दामा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
पीडित किशोरीको उमेरमाथि प्रश्न उठाउँदै आएपछि अदालतले जन्मदर्ता देखि बसाइसराईसम्मको माग्ने आदेश गरिसकेको छ । हेर्न नभ्याइने, हेर्न नमिल्ने, प्रमाण माग्ने आदेश, हेर्दाहेर्दैमा अल्झिरहेको बलात्कारजस्तो संवेदनशील मुद्दामा ढिलासुस्ती हुँदै आएको हो ।














