वीरगन्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगन्ज सहित पुरै मधेसलाई उजाड बनाउने काम उपेन्द्र यादवले गरेको बताएका छन् । उपेन्द्रलाई मधेसबाट बहिष्कार गरी दण्डित गर्नुपर्ने उनले बताए ।
बैङ्किङ लुट रोक्नका लागि बैङ्किङ क्षेत्रको समस्या बारे आजपा मधेस प्रदेश कमिटीद्वारा आज वीरगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशकै आर्थिक राजधानी रहेको वीरगन्ज सहित मधेसलाई तहसनहस गर्दै बर्बाद गरेर उजाड बनाउने काम उपेन्द्रले गरेको बताए ।

‘सबैभन्दा सुगम भनिएको मधेसको मानव सूचकांक अहिले कर्णालीभन्दा पनि पछाडि छ । वीरगन्ज सहित मधेसलाई बर्बाद गर्ने, उजाड बनाउने, तहसनहस गर्नेलाई अब बहिष्कार गरेर दण्डित गर्नुपर्ने बेला आइसकेको छ’ साहले भने, ‘मधेसी जनता, मधेसका लागि भनेर मधेसलाई नै बर्बाद गर्ने, उजाड बनाउनेहरू मधेस सरकारमा पुगेपछि मधेसका लागि के गरे ? जहिले पनि शासनमा छदैछन्, तर उनीहरूले केवल मधेसलाई बर्बाद गर्ने काम मात्रै गरे । के उनीहरूलाई दण्डित गर्ने बेला भएको छैन् ? के उनीहरूलाई यतिकै छाड्ने हो ? मधेसलाई गुलजार बनाउने हो भने मधेसलाई उजाड बनाउनेलाई दण्डित गर्नैपर्छ ।’
दलितका आवास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरू सत्तामा बसेर लुट मचाइरहेको आरोप साहले लगाए । संघीय सरकार सहित मधेस प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उनले सुशासन, समृद्धिका लागि भ्रष्टाचारका विरुद्धमा शसक्त आवाज उठाउनुपर्ने बताए ।
मुलुक आर्थिक सङ्कटको चपेटामा पर्नुको प्रमुख कारण अहिलेको सरकार भगौडा दलालहरूको कब्जामा भएकाले यो अवस्था आएको साहले बताए । अब गैरआवासीय नेपालीको नाममा दोहोरो नागरिकता दिने र देशको पुँजी पलायन गराउने सरकारको षड्यन्त्र र त्यस्ता भगौडा वर्गहरूको अचल सम्पत्ति कब्जा गरेर आफ्नो दलले राष्ट्रियकरण गर्नुपर्ने उनले बताए ।
सो अन्तरक्रिया कार्यक्रममा बैंकहरूले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका विषयमा गम्भिर छलफल भएको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका नेता एवं प्रतिनिधिहरू, सरोकारवाला व्यक्ति तथा पीडितहरूको व्यापक सहभागिता रहेको थियो ।
यसैबीच यता आजपा निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने माग गर्दै आज १२औं दिन पनि काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ ।
आन्दोलनमा सहभागि आजपाका उपाध्यक्ष तिलक थापाले ४५ प्रतिशत पुरस्कारको व्यवस्थाले खुलेआम राजस्व लुट्न र देशलाई बर्बाद बनाउने काम भइरहेकाले यसलाई रोक्नुपर्ने बताए ।
आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ ।














