काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुले) विभिन्न माग राख्दै परीक्षा नियन्त्रण कार्यालयको गाडी पार्किङस्थलमा ताला लगाएको छ ।
स्ववियुले परीक्षा नियन्त्रकको गाडीको चावी माग्दा नदिइएपछि ताला लगाएको जनाएको छ । स्ववियु अध्यक्ष श्यामराज ओझाले भने, ‘उहाँहरु विश्वविद्यालयमा काम गर्न आएको हो र त्यो कामलाई प्रभावकारी बनाउन गाडी सुविधा दिइएको हो तर विश्वविद्यालय सुधार गर्न, विद्यार्थीलाई दिइने सेवा प्रवाहमा कुनै सुधार नआएकोले उहाँहरुको गाडी राखिएकै ठाउँमा ताला लगाइएको हो ।’

विद्यार्थीका मागहरू कार्यान्वयन नहुँदासम्म ताला नखोल्ने उनले बताए । स्ववियुले लिखित मागहरू बुझाएको तर स्ववियुको माग पूरा गर्न त्रिवि इच्छुक नदेखिएकाले आन्दोलनको स्वरूप परिवर्तन गर्दै त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको नाममा प्रयोग हुँदै आइरहेका सवारी साधनहरू चलाउन नदिने ओझाले बताए ।
स्ववियुले दश बुँदे माग राख्दै बुधबारदेखि आन्दोलन सुरु गरेको छ । स्ववियुले विज्ञप्ति जारी गर्दै त्रिवि, परीक्षा नियन्त्रण कार्यालयलाई सुधारसहित रूपान्तरण गर्ने उद्देश्यले रचनात्मक तथा सिर्जनात्मक अभ्यास मार्फत निर्णायक आन्दोलन सुरू गरेको जनाएको छ ।














