Logo
Logo

जेसुकै भन्नुस्, गौतम मनोनीत हुन्छन् : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता


चितवन, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरिने बताएका छन् ।
नेकपा सचिवालय बैठकले केही दिनअघि नेता गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेको थियो । त्यसपछि पार्टीभित्र विवाद देखिरहेका बेला शुक्रबार प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले गौतमलाई नै मनोनित गर्ने कुरा दोहो¥याएका हुन् ।
उनले गौतमलाई राष्ट्रियसभामा प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा आफूले कल्पनासमेत गर्न नसक्ने भन्दै भने, ‘मैले त्यति बुझेको हो ।’ प्रधानमन्त्रीले गौतमलाई सिफारिस गरेन भने के हुन्छ भन्ने प्रश्नमा दाहालले भने, ‘म अहिले त्यतातिर जानै चाहान्न । मलाई विश्वास छ उहाँले पार्टीको सचिवालय समितिको बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्दिन । कसैले पनि सक्दैनन् ।’
आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय भएको उनको भनाइ थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको बताउँदै उनले छ महिनाका लागि राष्ट्रियसभामा नगएर डा युवराज खतिवडा अर्थमन्त्री हुनसक्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको सर्त सचिवालय बैठकबाट हटेको बताए । उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।
उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित हल्ला मात्र भएको समेत उनले बताए । ‘त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ’ उनले भने, ‘त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु ।’ प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण भएको भन्दै उनले भने, ‘मैले ल्याएर केके गरे भन्ने तपाईहरुलाई थाहा नै छ नी ।’

प्रतिक्रिया दिनुहोस्