
काठमाडौं । शुक्रबार बालकुमारीमा मारिएका वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न परिवारले माग गरेका छन् ।
शनिवार मृतकका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक एक जनालाई रोजगारीको व्यवस्था गर्न माग गरेका हुन् । त्यस्तै गृहमन्त्री र यातायातमन्त्रीको राजीनामा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टीलगायतका मागहरु पनि अगाडि सारिएको छ ।
यस घटनामा विभिन्न माग राख्दै प्रदर्शनकारीहरुले सुर्खेतमा एक घण्टाका लागि आज सवारी साधन पूर्णरुपमा बन्द गर्ने भएका छन् । सुर्खेतमा आज (आइतबार) दिउँसो १२ बजे देखि १ बजेसम्म एक घण्टाका लागि सम्पूर्ण सवारी साधन बन्दको आव्हान गरिएको हो । सरकारी सवारी साधन भने दिनभर नै बन्द गरिन लागिएको आन्दोलन संघर्ष समिति, सुर्खेतको नामबाट जारी एक सूचनामा भनिएको छ ।
शुक्रबार ललितपुरमा प्रहरीसँगको झडपमाबाट दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । ‘रोजगारीका लागि देश बाहिर जाने प्रयोजनका लागि भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको धरकपड र गोली प्रहारको घटना अत्यन्तै निन्दनीय छ ।
आन्दोलन भइराखेको ठाउँमा जवजस्ती झण्डा हल्लाउँदै भीडमा प्रवेश गर्ने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गोली हान्न आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र घटनामा संलग्न अन्यलाई कानुन अनुसार कारवाहीको माग गर्दै देशैभर आन्दोलन भइरहेको छ,’ संघर्ष समितिले जारी गरेको अपिलमा भनिएको छ ।














