
काठमाडौं । सरकारले तोकेको निषेधित क्षेत्र तोड्न मन्त्री नै माइतीघर पुगेको खुलेको छ । ‘धोती दिवस’ मनाउने भन्दै आज बिहान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी गृह मन्त्रालयले तोकेको निषेधित क्षेत्रमा प्रदर्शन गर्न माइतीघर पुगेको खुलेको हो ।
जनमत पार्टीका अध्यक्ष सीके राउतसहित सो पार्टीका तर्फबाट मन्त्री अनितासहित जनमत पार्टीका नेता–कार्यकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि अध्यक्ष राउतसहित सो पार्टीका ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।उनीहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ ।
मन्त्री अनिता पनि भृकुटीमण्डप नै पुगेकी छन् । उनले पार्टी अध्यक्ष राउतसहितका नेता–कार्यकर्ता रिहा नहुँदासम्म आफू भृकुटीमण्डपमै बस्ने बताएकी छन् ।














