काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेताहरु छुटेका छन् । आज माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा मन्त्री अनिता यादवसहित राउत पक्राउ परेका थिए ।
हिरासतमुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै राउतले राज्यले आफूहरुमाथि विभेद गरेको आरोप लगाए । सांस्कृतिक प्रदर्शन भएकाले निषेधित क्षेत्रमा पनि जान दिनुपर्ने उनको तर्क थियो ।

राउतले भने, ‘हामी जम्मा हुनासाथ धरपकड र धकेल्ने काम भयो । एकाएक सबैलाई हिरासतमा राखियो । मन्त्री र माननीयज्यूहरुलाई त यस्तो व्यवहार हुन्छ भने जनताको अवस्था के होला ?’
उनले विगतदेखि नै आफूहरुले जनवरी १ मा ‘धोति दिवस’ मनाउँदै आएको बताए । तर, मधेशी भनेर विभेद गरिएको उनको दावी थियो ।
राउतले भने, ‘कतिसम्म विभेद छ हेर्नुस । मधेस मुलकी महिलामन्त्रीलाई पक्राउ गरियो । अरु पार्टीको भ एगर्न सक्थे ? राष्ट्रिय पार्टीको अध्यक्षलाई पक्राउ गरियो । यो रंगभेद हो । आफ्नै क्याबिनेट मन्त्रीलाई हिरासतमा लिने यो कस्तो गणतन्त्र ? यो कस्तो मानवअधिकार ? धन्न हामीले संयम अपनायौं । नत्र देशभर आगो बल्ने अवस्था थियो ।’














