Logo
Logo

मदन भण्डारी राजमार्ग सर्भे गर्ने बाटो खुल्यो


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, १७ फागुन । मदन भण्डारी राजमार्गको सर्भेमा देखिएको विवाद टुंगिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट हुँदै लैजाने विषयमा सहमति जुटेपछि आयोजनालाई सर्भे गर्न बाटो खुलेको छ । सोही क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको पहलमा शुक्रबार उक्त विवाद समाधान भएको हो ।
राजमार्ग सालकोट या बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा त्यस क्षेत्रका बासिन्दा विभाजित थिए । सहमतिअनुसार अब मदन भण्डारी राजमार्ग सालकोटको रुट भएर जानेछ भने खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकको राजमार्गसरहकै स्तरोन्नति गरिनेछ ।
२० किमि लम्बाइ रहेको खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकलाई ५० मिटर चौडाइको बनाउन विस्तृत सम्भाव्यता अध्ययनको काम पनि शुरु गरिएको छ । अब यो सडक पनि मदन भण्डारी राजमार्गसरहकै मापदण्डअनुसार बन्नेछ । सालकोट र बाबियाचौर क्षेत्रका बासिन्दाको विवादका कारण पछिल्लो समय सर्भे कार्य रोकिएको थियो ।
राज्यमन्त्री रावतले खम्बागाडे पुगेर सम्भाव्यता अध्ययनको शुरुआत गर्नुभयो । विकासमा विवाद गर्न नहुने भन्दै उहाँले पश्चिम सुर्खेत राष्ट्रिय राजमार्गमा जोडिन सफल भएकामा खुशी व्यक्त गरे । ‘निर्वाचनका बेलाको एउटा प्रतिबद्धता पूरा गर्दैछु, राजमार्गसँगै सोही मापदण्डको विद्यापुर जोड्ने सडकको विस्तृत परियोजना प्रतिवेदन र आइईको काम पनि शुरु गरिएको छ’, उनले भने, ‘विकासमा हामी सहयोगी बनौँ, सानातिना विवाद आएमा तत्कालै बसेर समाधान खोजौँ ।’ उनले खम्बागाडे–विद्यापुर सडकका लागि आगामी वर्ष बजेट जुटाउने प्रतिबद्धता जनाए । उनले विकास निर्माणमा आउने विवादको समाधानको नेतृत्व गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे । विवाद समाधानका लागि आयोजित भेलामा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा, सालकोट÷बाबियाचौर क्षेत्रका बासिन्दाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्