काठमाडौं । दुई सातादेखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच नेता बिहान त्यहाँ पुगेका छन् ।
पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूलाई भैरहवा बोलाएपछि अध्यक्ष राजेन्द्र लिंदेनका साथै बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंह ज्ञानेन्द्र भेट्न बुधबार बिहान त्यहाँ पुगेका हुन् ।

उनीहरूलाई ज्ञानेन्द्रले केका लागि बोलाएका हुन् केही खुलेको छैन । ज्ञानेन्द्रसँग बिहानको खानासँगैको छलफलपछि साँझ साढे छ बजे काठमाडौं फर्कने उनीहरूको टिकट छ।
राष्ट्रिय प्रजातन्त्रमा अध्यक्ष लिंदेन प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर अघि बढ्नु पर्ने पक्षमा छन् भने मिश्रसहितका केही नेताहरू भने सरकारमा सहभागी हुने होइन अहिलेको व्यवस्थाका विरुद्धमा सङ्घर्षमा उत्रनुपर्ने पक्षमा छन् ।
राष्ट्रिय प्रजातन्त्रभित्र फरक फरक धारणा र मतकाबीच उसले फागुन ७ गते देखि आन्दोलन गर्ने घोषणा गरेका बेला ज्ञानेन्द्रले उनीहरूसँग छलफल गर्न बोलाएका हुन् ।
शाह अहिले औपचारिकभन्दा अनौपचारिक भेटघाटमा व्यस्त भएका छन् । उनले विभिन्न व्यक्तिहरूलाई सामूहिक र एक्ला एक्लै पालैपालो भेटघाट गरेका छन् ।
एक सातामा उनी एउटा मात्रै औपचारिक कार्यक्रममा सहभागी भए। शनिवार उनले शिवराज नगरपालिका—३ खरेन्द्रपुर चोक कपिलवस्तुमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरे । नेपालमै पहिलो पटक पृथ्वीनारायण शाहले जङ्गी घोडा चढेको सालिक शिवराज नगरपालिकाले निर्माण गरेको हो।
शाह श्रीमती कोमल र नाति हृदयेन्द्रसहित यहाँ आएका हुन् । उनी भैरहवास्थित पाँचतारे होटेल सिद्धार्थ भिलासामा बसेका छन् । बिहान सुरक्षाकर्मी लिएर मर्निङ वाकमा निस्कने गरेका पूर्वराजा १२ गते भैरहवाको भाटभटेनी सुपरमार्केट गएर किनमेल गरे । १० गते बुटवलको ड्रिम होटलमा पुगेर बिहानको खाना खाएका थिए ।














