
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँटको बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षबिहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको ४ दलको बैठकमा सीट बाँडफाँटका बिषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको हो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरुबीच आन्तरिक छलफल गरेर पुन गठबन्धनको बैठक बस्ने जानकारी दिए ।
उनले भने, ‘राष्ट्रियसभाको विषयमा छलफल भएको छ । त्यसमा थप छलफल बाँकी छ । अर्काे बैठक आज साँझ वा भोलि बिहान बस्नेगरी हामी उठेका छौँ ।’
सत्ता गठबन्धनबीच राष्ट्रियसभा सदस्य निर्वाचनका बिषयमा मात्रै छलफल भएपनि एमालेसँग भने समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको उनले बताए ।
राष्ट्रियसभा सदस्य निर्वाचन आफ्नो दललाई शुन्य नबनाउन एमालेले आग्रह गरेपछि सिट व्यवस्थापनका बिषयमा गठबन्धनबीच छलफल भइरहेपनि कुनै निष्कर्ष आउन सकेको छैन । एमालेले सिट मागेपछि संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई एमालेले सघाउनुपर्ने गठबन्धनको सर्त छ ।
आगामी माघ ११ गते रिक्त हुन लागेका १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन हुँदै छ । त्यसका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको निर्वाचन कार्यतालिका छ ।














