Logo
Logo

भारतलाई बिजुली बेच्ने प्रक्रिया सुरु भयो : प्रधानमन्त्री


378
Shares

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु बताएका छन् ।

बिहीबार रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ स्थित पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका क्रममा भएको समझदारीले मूर्तरुप लिएको बताए ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा दुई पक्षीय सम्झौता भएसँगै भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु भएको उनको भनाइ छ । सम्झौताअनुसार नेपालले भारतलाई १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्नेछ ।

प्रधानमन्त्रीले गत जेठमा गरेको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो । हैदरावाद हाउसमा प्रचण्डसँगको भेटपछि भारतीय समकक्षी नरेन्द्र मोदीले दीर्घकालीन रुपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशकाबीचमा सहमति भएको बताएका थिए ।

सोहीअनुसार भारतको सङ्घीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ ।

सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा विद्युत् खरिद बिक्री सम्झौता गरी बिजुली लिनेछन् । नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्