Logo
Logo

कांग्रेस नेता न्यायाधीश नियुक्त, सहमहामन्त्री निवासमा खुसीयाली


92.4k
Shares

काठमाडौं । लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय कैलाश गुरुङ गत पुस १८ गते बुधवार उच्च अदालतको न्यायाधीश नियुक्त भए छन् । गुरुङको नियुक्तिले पाँचथरे कांग्रेसमा खुसीयाली छाएको छ ।

न्याय परिषद् बैठकले ३९ जनालाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्दा गुरुङ कांग्रेस कोटामा कानुन व्यवसायीको तर्फबाट उच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् ।

फिदिम नगरपालिका वडा नम्बर ८ घर भएका गुरुङ पछिल्लो समय भक्तपुर बस्दै आएका छन् । जिल्लामा हुँदा र पछिल्लो समय पनि उनी कानुन व्यवसायभन्दा धेरै कांग्रेस राजनीतिमा सक्रिय छन् ।

सामान्य अधिवक्ताको रुपमा काम गर्दै आए पनि उनी कांग्रेसको जिल्ला स्तरमा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका व्यक्ति हुन् । उनी कांग्रेसी वकिलहरूको संस्था नेपाल डेमोक्रेटिक लयर्स एसोशिएनका नेतासमेत हुन् ।

लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय हुँदै आएका गुरुङ कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेको आर्शिवादमा कांग्रेसको कोटामा परेर न्यायाधीश नियुक्त भएका हुन् ।

पार्टीको कोटाबाट न्यायाधीश नियुक्त भएको पर्सिपल्ट अर्थात् पुस २२ गते गुरुङ धन्यवाद ज्ञापन गर्न र बधाई थाप्न सहमहामन्त्री आङदेम्बे निवास कौशलटार भक्तपुर पुगेका थिए । न्यायाधीश गुरुङ सहमहामन्त्री निवास पुगेपछि ठूलो सफलता मिलेको भन्दै रक्सी पार्टी नै चलेको थियो ।

राजनीतिक भागबन्डाको आधारमा न्यायालयमा नियुक्ति हुँदा न्याय सम्पादन निष्पक्ष  हुन नसकेको आरोप लाग्दै आएको बेला कांग्रेसले खाटी कार्यकर्तालाई न्यायाधीश बनाएको हो ।

कानुन व्यवसायी भन्दा पनि पार्टीका कार्यकर्तालाई कांग्रेसको कोटाबाट न्यायाधीश नियुक्त गरिएकाले उनको न्याय सम्पादनमा विश्वस्त हुन नसकिने पाँचथर र उनको कार्यक्षेत्र काठमाडौंमा पनि चर्चा चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्