Logo
Logo

राष्ट्रियसभा उम्मेदवार छनोटप्रति गगन असन्तुष्ट


1.8k
Shares

काठमाडौं । नेपाली कांगे्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शेखर कोइराला पक्षले तीन सिट मात्रै पाएपछि असन्तुष्टि जनाएका छन् ।

उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै थापाले २ बुँदे लिखित असहमति राखेका हुन् । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्दा आफ्नो भागमा परेको १० सिटमध्ये संस्थापन पक्षका ७ र शेखर–गगन पक्षका ३ जना उम्मेदवार रहने गरी कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । तर, शेखर पक्षले भने आफुले ४ सिट पाउनुपर्ने दाबी गरेको थियो ।

यही पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको मापदण्ड पालना नगरिएको उनको फरकमतमा उल्लेख छ । कांग्रेस केन्द्रीय समिति बैठकले कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय सभा उम्मेदवारमा प्राथमिकता दिने भनेर मापदण्ड बनाएको थियो ।

साथै सबै तह र तप्काकालाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वास पार्टीमा पुनः एकपटक खण्डित भएको महामन्त्री थापाको भनाइ छ ।

यस्तो छ गगन थापाको फरक मत

१. हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो ।

संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।

२.यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।

अतः आजको निर्णयप्रती मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।

गगनकुमार थापा
महामन्त्री
२०८० पौष २२

प्रतिक्रिया दिनुहोस्