Logo
Logo

राष्ट्रियसभाका उम्मेदवारलाई १० हजार धरौटी, दलित/ अल्पसंख्यकलाई ५० प्रतिशत छुट


315
Shares

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आवाश्यक कागजातको बारेमा यसअघि नै सुचना जारी गरिसकेको छ ।

जसअनुसार गत पुस ९ गते सार्वजनिक गरेको मापदण्ड अनुसार उम्मेदवारले विभिन्न सर्त पुरा गर्नु पर्ने आयोगले जनाएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सासहित १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्ने छ ।

महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ । साथै, आर्थिकरूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहको सिफारिसपत्र संलग्न हुनु पर्ने सर्त राखेर आयोगले छुटको ब्यवस्था गरेको छ ।

मनोनयनका लागि दलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ । साथै, दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा आवश्यक पर्नेछ । 

 अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट उम्मेदवारी दिने व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने प्रवक्ता पौडयालले बताए ।

उनका अनुसार अल्पसङ्ख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा संलग्न हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्