पर्सा । बारा र पर्सामा नेपाल रिटर्नी एशोसिएसन गठन भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमामा रिटर्नी एशोसिएसन जिल्ला कमिटी गठन र पार्टी प्रवेश कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालसहित एकीकृत समाजवादीका केन्द्रीय कमिटी सचिव नागेन्द्र चौधरी, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री किसन श्रेष्ठ, पर्सा इन्चार्ज रामचन्द्र साह, बारा इन्चार्ज दिनेश राई, एशोसिएसनका केन्द्रीय अध्यक्ष प्रविण पौडेलसहित जिल्ला र पालिकाका नेताहरूको उपस्थिति थियो ।

कार्यक्रममा सयौँको सङ्ख्यामा पार्टी प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष नेपालसहितले पार्टीमा स्वागत गरे। अविनाश महतोको अध्यक्षतामा २५ सदस्यीय पर्सा जिल्ला कमिटी गठन भएको छ ।
कार्यक्रममा अध्यक्ष नेपालसहित प्रसिद्ध उद्योगी बाबुलाल चाचानले सम्बोधन गरे । नेपालले कृषि, उद्योग, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, जलविद्युत, पर्यटन, विज्ञान प्रविधि, वातावरण, अध्ययन अनुसन्धान र सुशासन कायम गर्न एकीकृत समाजवादी लागिपरेको बताए । उनले जनतालाई सेवा प्रवाह गर्नु र उद्योगीलाई जोगानु राज्यको दायित्व भएको बताए ।
उनले भने, ‘कृषि, उद्योग, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, जलविद्युत, पर्यटन, विज्ञान प्रविधि, वातावरण, अध्ययन अनुसन्धान र सुशासनको विषयलाई प्राथमिकतामा राखेर हामी अगाडि बढेका छौँ । जनतालाई सेवा प्रवाह गर्नु र उद्योगीको संरक्षण गर्नु राज्यको दायित्व हो ।’
यसअघि सम्बोधन गर्दै उद्योगी चाचानले उद्योगधन्दा जीर्ण बनेको भन्दै राज्यले संरक्षण गर्नुपर्ने बताएका थिए । ‘उद्योगी जीर्ण अवस्थामा छन् । धेरै उद्योग बन्द भएका छन् । राज्यको सहयोग नितान्त जरुरी छ,’ उनले भने ।
यस्तै, बाराको परवानीपुरमा नेपाल रिटर्नी एशोसिएसनले आयोजना गरेको संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा पनि सयौँको सङ्ख्यामा पार्टी प्रवेश गरेका छन् । बाराको कार्यक्रममा पनि पार्टीका केन्द्रीय अध्यक्ष नेपाल, सचिव चौधरी, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री श्रेष्ठ, पर्सा इन्चार्ज माथि, बारा इन्चार्ज राई, एशोसिएसनका केन्द्रीय अध्यक्ष पौडेललगायतको उपस्थिति थियो ।
बारामा अनिल साहको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । साह सोमबार नै एमाले एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । प्रवेश कार्यक्रममा पाँच सयभन्दा धेरैको सहभागिता रहेको पौडेलले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले युवालाई रोक्ने कार्यक्रम अति आवश्यक रहेको औँल्याए । यसका लागि रिटर्नी एशोसिएसनले राम्रो कदम अगाडि बढाएको भन्दै उनले अझ सक्रिय रुपमा अगाडि बढ्न निर्देशनसहित शुभकामना दिए ।
एशोसिएसनका अध्यक्ष पौडेलले जनताको दैनिक जीवनसँग जोडिएका सरकारी कार्यालयमा भ्रष्टाचार न्यूनिकरण गर्न एकद्वार प्रणाली लागू गर्न जरुरी रहेको बताए । वैज्ञानिक ढंगले सेवाग्राहीले सेवा पाउनुपर्ने आवश्यकता उनले औँल्याए । युवाहरूको आवाज सम्बोधन गर्नेगरी संगठन अघि बढ्ने उनले बताए ।














