
काठमाडौं । लामो समयदेखि फरार रहेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको छ ।
मंगलबार राति काठमाडौंको हात्तीगौंडास्थित घरबाट पक्राउ परेका आफूलाई तपस्वी बताउने बम्जनलाई सीआईबीले आज बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । सीआईबीले उनलाई सार्वजनिक गर्दा उनी सेतो ज्याकेटमा चिटिक्क देखिएका थिए ।
०७६ सालमा एक अनुयायीमाथि यौन शोषण गरेको र पाँचजना व्यक्ति बेपत्ता पारेको आरोप लागेपछि फरार रहेका बम्जनलाई सीआईबीले पटक पटकको प्रयासमा पनि पक्राउ गर्न असफल हुँदै आएको थियो । तर यस पटक उनी काठमाडौंको हात्तीगौंडास्थित घरबाटै समातिएका हुन् ।
सीआईबीको टोली पक्राउ गर्न घरभित्र छिर्दा उनी चौथो तलाको झ्यालबाट हामफालेर भाग्न तम्तयार भइसकेका थिए । तर अन्य तीनवटा टोली तैनाथ गरेर उनलाई पक्रन सफल भएको सीआईबीले जनाएको छ ।
सीआईबीलाई लगातार चुनौती दिइरहेका उनलाई पक्राउ गर्न ‘अपरेशन ब्लु’ नै चलाइएको थियो । सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेशन ब्लु’ चलाएर बम्जनलाई पक्राउ गरिएको हो ।














