Logo
Logo

पुस २८ गतेसम्म भुक्तानी नपाए आन्दोलन गर्ने दुध किसानको चेतावनी



काठमाडौं । दूध बिक्री गरेबापत पाउनुपर्ने भुक्तानी २८ पुुससम्म नपाए आन्दोलन गर्ने चितवनका किसानले चेतावनी दिएका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले पाँचबुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् ।

किसानले दूध बिक्रीको बक्यौता नपाएको, दूधको बजारीकरण सहज नभएको, किसानले पाउनुपर्ने सहुलियत ऋण नपाएको, बागमती प्रदेश सरकारबाट दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान चितवनका सबै किसानले नपाएको र पशु बिमाको समस्या सहजीकरण माग गर्दै संघले आन्दोलनको घोषणा गरेको हो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार चितवनका ४० हजारभन्दा बढी पशुपालक किसानले करिब २२ करोड भुक्तानी पाएका छैनन् । चितवनमा उत्पादन हुने साढे तीन लाख लिटर दूधमध्ये डेढ लाख जिल्ला बाहिरी खपत हुँदै बताउँदै उनले भने, ‘उधारोमा कहिलेसम्म दूध बिक्री गर्ने ?’

सहकारीले विभिन्न उद्योगलाई दूध बिक्री गर्छ । यसअघि उद्योगले प्रत्येक १५ दिनमा किसानको रकम भुक्तानी दिन सहकारीलाई पैसा पठाउने र सहकारीमार्फत किसानले रकम पाउने गरेका थिए । तर, उद्योगले पैसा नदिएपछि सहकारीहरूले किसानलाई पैसाको साटो घिउ, बटर दिन बाध्य भएको संघका सचिव कल्याण अधिकारीले बताए । दूध बेचेको पैसा लामो समयदेखि नपाउँदा साना किसानको जीविकोपार्जनमा समस्या भएको उनले बताए ।

आफूहरुको माग पूरा नभए पुस २९ गते दुग्ध किसानले प्रदर्शन गर्ने, १ माघमा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र चितवनमा ताल्चा लगाउने र २ गते कृषि तथा पशुपक्षीमन्त्रीको पुत्ला दहन गर्ने सचिव अधिकारीले बताए । उनका अनुसार जिल्ला संघले प्रदेश र केन्द्रको मन्त्रालयमा पटक–पटक भेट्दा र ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले आन्दोलनको घोषण गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्