काठमाडौं । राहदानीको सूचिमा नेपाल झनझन कमजोर बन्दै गइरहेको छ । विश्वका सबै देशका राहदानीको सूचिमा नेपाल अन्तिमबाट ८ नम्बरमा पुगेको हो ।
यो भनेको बङ्गलादेश, उत्तर कोरिया भन्दा पनि कमजोर हो । हेन्लीले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल ९८औं स्थानमा रहेको छ ।

सबैभन्दा शक्तिशाली पासपोर्ट जापान, सिंगापुर, जर्मनी, इटाली, फ्रान्स र स्पेन पहिलो नम्बरमा छन् । यी ६ देशको पासपोर्ट पहिलो नम्बरमा छन् । पहिलो नम्बरमा रहेका ६ देशको पासपोर्ट हुनेहरूले प्रिभिसा बिनै १९४ देशमा प्रवेश गर्न पाउँछन् ।
सातौं स्थानमा रहेको अमेरिकाको पासपोर्टले १८८ देशमा अग्रिम भिसाबिनै प्रवेश गर्न सकिन्छ । ८० औं स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा प्रवेश गर्न सकिने व्यवस्था छ। चीनको पासपोर्ट ६२ औं स्थानमा छ । चीनको पासपोर्टले ८५ देशमा प्रवेश गर्न सकिन्छ।
नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिना भिसा जान सकिने व्यवस्था छ । दक्षिण एसियामा नेपालभन्दा बलियो श्रीलङ्काको पासपोर्टले ४३ देश र बङ्गलादेश र उत्तर कोरियाको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ ।
सुरुमै भिसा नलिई टिकट मात्र काटेर जान सकिने आधारमा विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघको तथ्याङ्क अनुसार सूचिकृत गर्ने गरेको छ ।
हेन्ली एन्ड पार्ट्नर्सका अनुसार इन्टरन्याश्नल एअर ट्रान्सपोर्ट अथोरिटी आईएटीएले उपलब्ध गराएको तथ्याङ्कमा थप अध्ययन गरी राहदानीको सबलताबारे सूची तयार पारिएको हो ।
उक्त परामर्शदाता कम्पनीले तीन–तीन महिनामा यो सूची अद्यावधिक गर्ने गरेको छ । हेन्लीका अनुसार प्रत्येक वर्ष निश्चित मितिमा आईएटीएले उसलाई तथ्याङ्क उपलब्ध गराउँछ ।
त्यसबाहेक उक्त कम्पनीले सार्वजनिक रूपमा उपलब्ध दस्तावेज तथा विश्वस्त अनलाइन स्रोत हेरेर २२७ वटै सम्भावित गन्तव्यस्थल हुने प्रवेशबारे उपलब्ध जानकारीको अध्ययन गरी सूची तयार पार्ने गरेको जनाएको छ ।
यो सूची कुन देशको राहदानी बोकेका व्यक्तिले कतिवटा यात्रा गन्तव्यस्थलमा सहज रूपमा प्रवेश पाउँछन् भन्ने कुरामा आधारित छ ।














