
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अब राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।
कैलालीको टिकापुरमा आजबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै अहिले मुलुकमा राजतन्त्र फर्काउने गरि गतिविधि भइरहेको भन्दै उनले राजतन्त्र फर्किन सक्ने सम्भावना नरहेको प्रस्ट पारेका हुन् ।
‘गणतन्त्रका विरुद्धमा हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ । केही मान्छेले खुट्टा उचालिरहेका छन् । राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन,’ उनले भने ।
उनले पार्टी व्यवस्था भन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने जिकिर गरे । उनले भने, ‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन । फेरी दास बनाउने गरि कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन ।’
उनले पार्टीले निर्वाचित जनप्रतिनिधिलाई निगरानी राख्नु पर्नेमा जोड दिए । ‘कुनै पार्टी र नेताले गल्ती गरेको भन्दैमा सबै नेता खराब सबै पार्टी गलत भन्न मिल्दैन’, उनले भने ।














