Logo
Logo

काटिएका सबै उद्योगमा पुनः जाेडियो बिजुली



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेका २३ वटा उद्योगमा पुनः लाइन जोडिदिएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार शुक्रबार रातिबाटसबै उद्योगमा लाइन जोडिएको हो ।

डेडिकेटेड र ट्रंक लाइन चलाएको बिजुलीका प्रिमियम बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत पुस ९ गतेबाट ती उद्योगमा लाइन काट्न सुरु गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीबीचको महसुल बक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गरेको थियो ।

शुक्रबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको थियो । प्राधिकरणको रेकर्डअनुसार उद्योगबाट २०७२ माघअघिको ९७ करोड रूपैयाँ प्रिमियम महसुल लिन बाँकी छ ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब रूपैयाँ र त्यसयताको ८ अर्ब रूपैयाँ प्रिमियम शुल्क लिन बाँकी छ । त्यसबाहेक २५ प्रतिशत जरिवाना र १५ प्रतिशत ब्याजसमेत गर्दा अहिले ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्