Logo
Logo

विश्वास जित्दै, अघि बढ्दै : अनुपमा खुञ्जेली


- दृष्टि न्युज/संवाददाता


पछिल्ला वर्षहरुको तथ्यांक हेर्दा मेगा बैंकको प्रगति लोभलाग्दो छ । हालै मात्र बैंकले दुईवटा सफलता प्राप्त ग¥यो । एकातर्फ बैंकले ‘बैंक अफ दी इयर’को अवार्ड पायो, अर्काेतर्फ बैंककी सिईओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला व्यवस्थापक घोषित भइन् ।

अनुपमा खुञ्जेली

बैंकिङ क्षेत्रको विकास पछिल्लो दुई वर्ष उत्साहजनक छ । यसमा राजनीतिक स्थीरताले पनि सहयोग गरेको उनको भनाई छ । देशको विकासका कामहरु सोचेजस्तो नभएपनि आफू सधैं सकारात्मक भएर काम गर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘म बादलमा सधैं चाँदीको घेरा हुन्छ भन्ने मान्यता राख्छु, हरेक कुरामा अवसर खोजेर अघि बढ्नपर्छ ।’

अवार्ड र सम्मानले मात्र होइन, तथ्याङकले पनि बैंकको सफलता देखाउँछ । पछिल्लो तीन वर्षमा समग्र बैंकिङ क्षेत्रको ‘ग्रोथ’ करिब १६ प्रतिशत छ, यो अवस्थामा मेगाले ३२ प्रतिशत ‘ग्रोथ रेट’ कायम गर्दै अघि बढेको छ । मेगा बैंकको सिइओ खुञ्जेलीको नेतृत्वमा यसरी बैंकले सफलता हासिल गर्दै गएपछि उनको सबैतिर प्रशंसा भइरहेको छ ।

यो आफ्नो भन्दा पनि सम्पूर्ण मेगा बैंकको कर्मचारी टिमको मेहनतको परिणाम भएको उनी बताउँछिन् । ‘हाम्रो यो सफलतामा बोर्डदेखि ट्रेनी सहायकसम्मको यसमा योगदान छ,’ उनी भन्छिन्,‘ यी अवार्डले हामीलाई भोलिको दिनमा अझै धेरै सफलतामा अघि बढ्न लागि शक्ति दिएको छ, बैंकमाथिको थप जिम्मेवारीका रुपमा समेत हामीले यसलाई लिएका छौं ।’

उनले मेगा बैंक बैंकको व्यवस्थापनको नेतृत्व सम्हालेको दुई वर्ष भइसकेको छ । केही महिना निमित्त सिईओ भएपछि १ बैशाख २०७५ देखि उनलाई बोर्डले पूर्ण रुपमा सिईओको जिम्मेवारी दिएको थियो । वाणिज्य बैंकको पहिलो महिला सिइओका रुपमा नियुक्ति पाएका उनका लागि अवसरका साथै चुनाती पनि थियो । तर, अन्य बैंकभन्दा धेरै ग्रोथ गरेर उनीले चुनौतीलाई अवसरमा परिणत गरेकी छिन् ।

बैंकिङ क्षेत्रमा तिव्र प्रतिस्पर्धाका बीच मेगाको सफलताको दर उच्च छ । बैंकले पञ्चवर्षीय योजना बनाएर अघि बढेको थियो । पञ्चवर्षिय योजनाका लक्ष्यहरु तीन वर्षमै लगभग पुरा गरिसकेपछि नयाँ पञ्चवर्षीय योजना बनाएर अघि बढ्न लागेको उनी बताउँछन् । मेगाले गण्डकी विकास बैंकलाई आगामी बैशाखभित्र ‘अक्वायर’ गर्दैछ । त्यसपछि मेगा २७ मध्ये १० औं स्थानमा उक्लने छ । बैंकको बचत र कर्जा लगानी अर्बमाथि हुने छ भने बैंकको सञ्जाल ६३ जिल्लामा पुग्ने छ । गण्डकीलाई ‘अक्वायर’ गरेपछि नयाँ पञ्चवर्षीय योजना बनाएर अघि बढ्ने उनको योजना छ ।

बैंकको आजसम्मको सफलताको मुख्य कारण बैंकका कर्मचारी नै भएको उनी बताउँछिन् । ‘संस्थाको लिडरको रुपमा मैले प्रष्ट बुझेको कुरा हाम्रो सम्पत्ति भनेको जनशक्ति नै हो,’ उनी भन्छिन्,‘कर्मचारीहरुले जति खुशी भएर काम गर्नुहुन्छ, त्यति नै बैंकले सफलता पाउँछ ।’ कर्मचारीले उत्साहित भएर काम गर्ने वातावरण उनले बैंकमा बनाएकी छिन् ।

कर्मचारीको वृत्तिविकास र तालिममा उनले बिशेष जोड दिएकी छिन् । बैंकमा ‘लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर’ खोलिएको छ । जहाँ बैंकको ‘पोलिसी’ र ‘प्रोडक्ट’को बारेमा कर्मचारीलाई प्रशिक्षण दिने गरिन्छ । कर्मचारीको ‘अनलाइन’ परीक्षासमेत लिने गरिएको छ । कतिपयलाई तालिमका लागि बैंकले विदेशसमेत पठाएको छ ।

संस्थाको सफलतासँगै कर्मचारीहरुले आफ्नो ‘करिअर’ पनि आफैंले मूल्याङकन गर्ने ‘सिष्टम’ बनाइएको छ । हरेक तीन–तीन महिनामा कर्मचारीको मूल्यांकन हुने गरेको छ । कर्मचारीलाई हाकिमले होइन, उसको कामको आधारमा वृत्तिविकास गरिने सिष्टम लागू गरिएको छ । आफ्नो बढुवा हुन्छ कि हुँदैन, कहाँ सुधार गर्नुपर्छ भन्ने कुरा कर्मचारीले आफैँ थाहा पाउँछन् । यही सिष्टमले गर्दा बैंकभित्र कर्मचारीको ‘पर्फमेन्स’ उच्च छ, सोही कारण बैंकले सफलता पाएको अनुपमा बताउँछिन् ।

बैंकिङ क्षेत्रको विकास पछिल्लो दुई वर्ष उत्साहजनक छ । यसमा राजनीतिक स्थिरताले पनि सहयोग गरेको उनको भनाई छ । देशको विकासका कामहरु सोचेजस्तो नभएपनि आफू सधैं सकारात्मक भएर काम गर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘म बादलमा सधैं चाँदीको घेरा हुन्छ भन्ने मान्यता राख्छु, हरेक कुरामा अवसर खोजेर अघि बढ्नपर्छ ।’

२९ वर्षको बैंकिङ करिअरमा उनले धेरै उतार चढाव देखेकी छिन्, भोगेकी छिन् । उनले बैंकिङ करिअर सुरु गर्दा बैंकमा बचत खातामा १० प्रतिशत ब्याज दिन्थे । कुनै समय बैंकले बचत खातामा एक प्रतिशत मात्र ब्याज दिने अवस्था पनि उनले देखिन् । समस्या र चुनौती हरेक क्षेत्रमा आइरहने र यसले विकासको गति अघि बढीरहने उनको भनाई छ ।

सफलताका लागि उनले सिकेको सूत्र हो–हरेक दिन मेहनत गर्नुपर्छ । साथै अवसरलाई सधैं ‘क्यास’ गर्नुपर्ने उनी बताउँछन् । त्यही अवसर हेरेर मेगा बैंकले दोहा बैंकसँग २० मिलियन डलर एफडिआई भित्रयाउने सम्झौता गरेको छ । विगतमा नगद तरलता अभाव भयो । यसको विकल्पमा विदेशबाट पैसा ल्याउन पाउने नीति सरकारले ल्यायो, त्यसलाई मेगाले अवसरका रुपमा लियो उनी भन्छिन् ।

बैंकिङ क्षेत्रमा धैरै ‘रिस्क’ भएकाले ‘ग्रोथ’सँगै त्यसमा ध्यान दिनु जरुरी भएको उनी बताउँछिन् । साइबर सेक्युरिटी, ‘कर्पाेरेट गभर्नेन्स’जस्ता कुरामा बिशेष ध्यान दिइएको उनी बताउँछ । बैंकहरुले शेयरधनीलाई १५ देखि २० प्रतिशतसम्म लाभांस दिनसक्नुपर्ने उनको मान्यता छ ।

महिला सिइओका रुपमा महिलाहरुलाई अघि बढाउने योजना समेत उनले ल्याएकी थिइन् । उद्यमशील महिलाहरुका लागि मेगा बैंकले बिना धितो १५ लाख रुपैयाँसम्म कर्जा दिने गरेको छ । महिलाहरुलाई व्यवसायमा अघि बढाउने उदेश्यले यस्तो प्रोडक्ट ल्याइएको उनी बताउँछिन् ।

यो २९ वर्षको बैंकिङ ‘करिअर’मा यस्ता एउटा पनि दिन छैन, जुन दिन उनलाई कार्यालय जान अल्छी लागेको होस् । हरेक दिन कार्यालय जानका लागि आफुलाई छुट्टै उत्साह हुने गरेको उनी सुनाउँछिन् । ‘कामका लागि ‘प्यासन’ चाहिने रहेछ,’ उनी भन्छिन्, ‘हरेक दिन नयाँ मान्छे भेट्ने भएकोले पनि यो क्षेत्र रमाइलो पनि लाग्छ, अर्काे कुरा समयसँगै बैंकिङ क्षेत्रमा पनि धेरै परिवर्तन भइसकेको छ । त्यसकारण बैंकिङ क्षेत्रमा हरेक दिन नयाँ छ ।’

नेपालमा बाणिज्य बैंकले प्रथम सिईओका रुपमा इतिहास रच्नका लागि कामप्रतिको प्यासन र मेहनत छ । नेपाली समाजमा महिलालाई घरको दायित्व पनि धेरै हुने गर्दछ । बैंकिङ क्षेत्रमा धेरै समय दिनुपर्छ । परिवारको सहयोगमै आफू यहाँसम्म पुगेको उनी बताउँछन् ।

अनुपमा कर्मका साथै धर्ममा पनि विश्वास राख्दछिन् । उनको कार्यक्षत्रमा नौ वटा घोडा एकै दिशामा दौडिरहेको ठूलो पेन्टिङ राखिएको छ । ‘यो पेन्टिङले आफ्नो टिमलाई लक्ष्यमा सधैं कुदाइरहनुपर्छ भन्ने कुरा याद गराइरहन्छ ।’ भिजन र मिसनलाई पेन्टिङले उर्जा दिने उनी बताउँछिन् ।

उनको हरेक दिन बिहानीको पूजाबाट सुरुवात हुन्छ । कार्यकक्षमा पनि भगवानका मूर्तीहरु राखिएका छन् । ‘भगवान भनेको एउटा शक्ति हो, भगवानप्रतिको विश्वासले उर्जा दिन्छ, यसले आफुलाई रेगुलेज पनि गराउँछ ।’

ठमेलको नर्सिङ क्याम्पमा हुर्किएकी अनुपमाको बाल्यकाल महाराजगञ्जमा बित्यो । सेन्ट मेरिजमा उनले स्कुल जीवन बिताइन् । शंकरदेवमा क्याम्पस पढिन् । उनका बुबा निजामती सेवामा दिए । सन्तान आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने मान्यता बुबाको थियो, त्यही अनुसार बि.कम लगत्तै उनीले तत्कालीन नेपाल ग्रिनलेज बैंक(हालको स्टान्र्डड चार्टड)बाट करिअर सुरु गरिन् । ग्रिनलेजमा १३ वर्ष काम गरेपछि ६ वर्ष उनले नवील बैंकमा बिताइन् । मेगा बैंकमा उनी स्थापनादेखि नै छिन् ।

कुनै पनि करिअरमा सफलताका लागि सही निर्णय लिन सक्ने क्षमता बढाउनुपर्ने उनको अनुभव छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाहरुको उपस्थिति बढ्दै गएकोमा उनलाई खुशी लागेको छ । मेगा बैंकमा ४३ प्रतिशत महिला छन् । मेगा बैंकका नारामध्ये एक हो– विश्वास जित्दै,अघि बढ्दै । यो नारा उनको जीवनमा पनि मिल्छ । अनुपमा पनि विश्वास जित्दै आफ्नो करिअरमा अघि बढ्नै आएकी छिन् । सुरुमा बैंकको सञ्चालक बोर्डको उनले विश्वास जितिन्, अहिले ग्राहकहरुको विश्वास जित्दै अघि बढेकी छिन् ।

प्रस्तोता : पार्वती धरेल

प्रतिक्रिया दिनुहोस्