रौतहट । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालले आफ्नो घरमै हिउँदे अधिवेशन भएको घोषणा गरेका छन् ।
उनमाथि करोडौँ भ्रष्टाचारको आरोप लगाउँदै उपमेयरको नेतृत्वमा जनप्रतिनिधिहरुले तालाबन्दी लगाएका छन् । एक सातासम्म पनि नगरपालिकाको तालाबन्दी नखुलेपछि आइतबार मेयर जैसवालले कटहरिया–९ डुमरियास्थित आफ्नो घरमै हिउँदे अधिवेशन भएको घोषणा गरेका हुन् ।

उपमेयर रिता देवी यादव, वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल गुप्ता, ७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापति शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्व वडा अध्यक्ष उमेश यादव, बाल्मीकि यादव, वडा प्रत्याशी हरेन्द्र यादव लगायत दर्जनौँ नेता कार्यकर्ताले ८ बुँदे मागसहित गत आइतबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।
आफूहरुको माग सम्बोधन नभएसम्म नगरपालिकाको ताला नखोल्ने बरु थप सशक्त आन्दोलन गर्ने उनीहरूको चेतावनी थियो । तर मेयर अजयप्रकाशले आइतबार बहुमतसहित हिउँदे अधिवेशन सम्पन्न भएको दाबी गरेका छन् ।
५ जना वडा अध्यक्ष, १४ जना कार्यपालिका सदस्य र आफूसहित बहुमत सदस्य अधिवेशनमा सहभागी भएको उनले दाबी गरेका छन् । अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह लगायत नगरपालिकाका कर्मचारी समेत सहभागी थिए ।
नगरपालिकाको प्राङ्गणमा विरोध प्रदर्शन भइरहेकाले आफूसहित बहुमत सदस्यले नगरभित्रै हिउँदे अधिवेशन सम्पन्न गरेको मेयरको भनाइ छ ।