काठमाडौं, २१ फागुन ।
संघीय संसद् राष्ट्रियसभामा नवर्विाचित १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज (बुधबार) आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का दुई सदस्य छन् ।
शपथ लिनु हुनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुषाल छन्।

त्यस्तै भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै शपथ लिएका छन् ।
सो अवसरमा सङ्घीय संसद् सचिवालयले उहाँहरुलाई संविधान र कानूनसहितको झोला उपलब्ध गराएको थियो । राष्ट्रियसभा सदस्यका लागि गत माघ ९ मा भएको निर्वाचनबाट सात महिला, दुई दलित, दुई अपाङ्गता भएका वा अल्पसङ्ख्यक र सात अन्य समूहबाट निर्वा्चित भएका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक एक सदस्यको भने मनोनीत गर्न बाँकी नै रहेको छ । पहिलो पटक गोलाप्रथाद्वारा दुई वर्षे कार्यकाल प्राप्त गरेका १८ सदस्यको मङ्गलबार बिदाइ गरिएको थियो ।
स्थायी सदनका रुपमा रहेको संघीय संसद्, राष्ट्रियसभा ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ । शपथग्रहण समारोहमा राष्ट्रियसभाका उपाध्यक्ष, राष्ट्रियसभामा संसदीय दलका नेता, मुख्य सचेतक, सचेतक, सदस्य, भर्खरै कार्यकाल समाप्त गरेको पूर्वसांसद र नवनिर्वा्चित सदस्यका आफन्तजनको सहभागिता रहेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने पद रिक्त छन् । नेकपाले सो पदमा नेता वामदेव गौतमलाई नियुक्ति गर्ने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि नियुक्ति अन्योलमा परेको छ ।











