काठमाडौं । विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा खुलेको छ । ईको ड्राइभ प्रा.लि.ले बीवाईडीको आधिकारिक शोरुमको रुपमा ललितपुरमा शोरुम उद्घाटन गरेको हो ।
ललितपुरको कुपनडोल हाइटमा रहेको नयाँ शोरुम ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् । शोरुम उद्घाटन गर्दै मेयर चिरिबाबुले आफु सधै इको फ्रेड्ली विद्युतीय सवारीको पक्षमा रहेको बताए । सोही अवसरमा मेयर महर्जनले आफूले पनि बीवाईडीको विद्युतीय गाडी नै चढिरहेको बताउँदै महानगरपालिकाले किन्ने हरेक गाडी विद्युतीय नै हुने बताए ।
‘ललितपुर महानगरपालिकाले नीति नै बनाएर अघि बढेको छ । गाडी खरिद गर्नुपरे विद्युतीय नै किन्ने’ उनले भने, ‘मैले पनि लामो समयदेखि विद्युतीय गाडी नै चढिरहेको छु ।’ सन् २०३० सम्ममा फोसिल फ्यूलबाट चल्ने सवारी मुक्त गर्ने विश्व वातावरण नीति भएकाले नेपालले पनि यसैको सिको गर्नुपर्ने उनले बताए ।
थप ललितपुर महानगरले आफ्नो २९ वटा वडाहरुमध्ये कोर सिटीभित्र पर्ने क्षेत्रमा विद्युतीय सटल बस सञ्चालन गर्ने तयारीसमेत गरिरहेको उनले बताए । स्मार्ट सिटीको अवधारण अनुरुप सदर चिडिया खाना (जु) क्षेत्रमा पनि साना–सान विद्युतीय सटल बस सेवा सञ्चालन गर्ने तयारी महानगरले गरिरहेको पनि उनले बताए ।
कार्यक्रममा ईको ड्राइभका अध्यक्ष प्रकाश तुलाधरले बीवाईडीले नयाँ शोरुममार्फत ईको सवारी र प्रयोगमा नयाँ पाइला अघि बढाएको बताए । नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले विद्युतीय सवारीको प्रयोगमा बीवाईडीले ठूलो संघर्ष गरेको बताउँदै हाल एउटा स्थापित कम्पनीको रुपमा परिचित भएको बताइन् ।
केही समयअघि काठमाडौँ उपत्यकाभित्र केही शोरुमहरुमा मात्र सीमित भएको कम्पनी हाल देशका मुख्य–मुख्य सहरहरुमा शोरूम स्थापना भैसकेको उनको भनाइ छ । साईमेक्स इंकले विगत ७ वर्षदेखी नेपालमा बीवाईडीका उत्पादनहरु बिक्री वितरण गर्दै आएको छ ।