काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक दुर्घटना न्यूनीकरणको प्रयास भइरहेको बताएका छन् । बिहीबार संसद्को राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले दुर्घटना न्यूनीकरणको प्रयास भइरहेको बताएका हुन् ।
चाडपर्वमा हुने दुर्घटनामा कमी आएको बताउँदै उनले भने, ‘सडक दुर्घटना र सडक सुरक्षाको विषय उठेको छ। दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् । हामीले दुर्घटना न्यूनीकरणको प्रयास गरेका छौँ। चाडपर्व हुने दुर्घटनामा कमी आएको छ। त्यो भनेको हाम्रो निरन्तर अनुगमनले नै हो ।’

दुर्घटना न्यूनीकरणमा सरकार गम्भीर रहेको पनि उनले बताए । सार्वजनिक सडक ऐन र सडक सुरक्षा ऐन एउटै हुनुहुँदैन भन्ने विषय उठेकाले एउटै ड्राफ्ट बनाएर अर्थ मन्त्रालय पठाइएको उनले बताउँदै मन्त्री ज्वालाले भने, ‘ ‘हामीले सुरुमा ड्राफ्ट बनाएर अर्थमा पठाउँदा एउटै बनाएर पठाऊ भन्यो । हामीले एउटै बनाएर पठाएका छौँ। अहिले धेरै अधिकार प्रदेशमा पनि छ । यातायात क्षेत्र व्यवस्थित बनाउन ७ गते प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएका छौँ ।’














