काठमाडौं । संविधान दिवसको दिन कैद सजाय मिनाहा पाएर छुटेका व्यक्ति चोरी आरोपमा फेरि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले दोलखा घर भई भक्तपुरको निकोसेरा बस्ने रघुनाथ बस्नेतलाई पक्राउ गरेको हो । उनलाई भक्तपुरबाट पक्राउ गरेको एसएसपी शेखर खनालले जानकारी दिए । उनले ललितपुरका विभिन्न ठाउँमा चोरी गरेको आरोप छ ।

उनले कात्तिक १५ गते सानेपाका तोपबहादुर थापाको घरमा बस्ने जर्मन नागरिक ड्यानिक फुच्सको कोठाबाट तीन वटा ल्यापटप, एउटा क्यामेरा र ४७ हजार नगद चोरी गरेको आरोप छ । भनिमण्डलस्थित उषा श्रेष्ठको घरमा बसेका नर्वेजियन नागरिक जेन्रिक सब्स टड्सरडको ३० हजार नगद र कपडाहरू चोरी भएको थियो ।
यसैगरी, मंसिर १७ गते ललितपुर(२ सानेपामा डेरामा बस्ने सुप्रिया राईको कोठाबाट २० तोला सुनका गहना र ६३ तोला चाँदीका गहना चोरी भएको थियो । ललितपुर महानगरपालिका(३ झम्सिखेल बस्ने ठाकुरनाथ ढकालको घरमा चोरी गरेको आरोप उनीमाथि छ ।
रघुनाथले ठाकुरनाथको घरबाट पुस १ गते राति कोही नभएको बेला करिब २७ तोला सुनका गरगहना, करिब १५ तोला चाँदीका गहना, ३० हजार रुपैयाँ र ८२५ अमेरिकी डलर समेत चोरी गरेको आरोप छ।
एसएसपी खनालका अनुसार चोरी गर्नुअघि रघुनाथले ठाउँको रेकी गर्ने गरेका छन् । चोरी गर्न जाने दिन उनले छुट्टै एक जोर कपडा समेत बोक्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
चोरी गर्न जानुअघि एउटा कपडा लगाएर घरभित्र पसेपछि चोरी गरिसकेर त्यहाँबाट निस्किँदा अर्कै कपडा लगाएर फर्किने गरेका हुन् ।
चोरी मुद्दामा मात्रै उनी ९ पटक पक्राउ परिसकेका छन्। उनीविरूद्ध अभद्र व्यवहार कसुरमा तीन पटकसहित १२ पटक मुद्दा चलिसकेको छ।
विभिन्न कसुरमा उनलाई १२ वर्ष कैद सजाय भएको पाइएको छ । पछिल्लो पटक २०७७ सालमा दोलखाबाट चोरी कसुरमा मुद्दा चलेको थियो । बस्नेत गत संविधान दिवसमा कैद सजाय मिनाहा पाएर छुटेका थिए ।