काठमाडौं । मानव बेचबिखन मुद्दाका एकजना फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको मेत्रावती गाउँपालिका–२ का ५७ वर्षीय वीरबहादुर तामाङ रहेका छन् । उनलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
ब्युरोका अनुसार तामाङले पीडित महिलालाई ब्रुनाई आश्वासन दिएर २०४७ साल चैत ३ गते काठमाडौंबाट काकरभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा भन्ने स्थानमा पुर्याएका थिए । तामाङले पीडितका श्रीमान् ब्रुनाईमा रोजगारीमा रहेका बेला ‘तिम्रो श्रीमान्ले ब्रुनाई ल्याइदिन भनेर मलाई चिठ्ठी पठाएको’ बताएर झुक्याएका थिए ।
त्यसपछि उनले पीडितलाई पश्चिम बंगालको बागडोग्रा भारतीय नागरिकलाई बेचबिखन गरेका थिए । बेचबिखनका क्रममा उनले पीडितलाई एक अनजान व्यक्तिको घरमा पुर्याएका थिए । उक्त घरका दुईजना अपरिचित भारतीय नागरिकको जिम्मा छाडेर आफू भोलि आउने बताएर तामाङ छोडेर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तामाङले भारतीय नागरिकबाट १६ हजार (भारु १० हजार) रुपैयाँ लिएर पीडितलाई बेचेको खुलेको ब्युरोले जनाएको छ ।
बेचबिखनमा संलग्न भारतीय नागरिकले पीडितलाई रिक्सामा राखेर लैजाने क्रममा पीडित रिक्साबाट हाम फालेर नजिकैको भारतीय प्रहरीको सम्पर्कमा गएकी थिइन् । भारतीय प्रहरीले काकरभिट्टा ल्याएर छोडिदिएको थियो ।
उनै तामाङलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको हो । ब्युरोबाट खटिएको टोलीले बुधबार ललितपुर महानगरपालिका–१४ स्थित तिखेदेवलमा पक्राउ गरेको हो । घटनामा संलग्न अन्य अभियुक्तहरूको खोजतलास भइरहेको ब्युरोले जनाएको छ ।
उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय लिएर ब्युरोले अनुसन्धान गरिरहेको छ ।