Logo
Logo

उपेन्द्र-सिके द्वन्द्व: एकअर्कालाई पाखा लगाउने, मधेशमा राज गर्ने



काठमाडौं । पछिल्लो समय समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच मधेशको मसिहा को बन्ने भन्नेमा होड चल्दै आएको छ । उनीहरूको लडाइँ मधेश राजनीतिको केन्द्रमा को रहने भन्नेमा छ । 

केन्द्रदेखि प्रदेशमा समेत सत्ता साझेदार जनमत र जसपाको लडाई अहिले छताछुल्ल भएको छ । मधेशको सर्वेसर्वा बन्न उपेन्द्र र सिके राउतबीचको झगडा अहिले रमिता बनिरहेको छ । मधेस कृषि विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्यासलाई लिएर जसपा र जनमत आमनेसामने नै भएका छन् । 

भवन शिलान्यासमा उपेन्द्रलाई प्रमुख अतिथि बनाएपछि जनमतका नेता तथा कार्यकर्ताले विश्वविद्यालयमा तालाबन्दी नै गरेका थिए । उपेन्द्रलाई नराेके द्वन्द्व भड्किने भन्दै सिके राउतले गृह मन्त्रालयलाई पत्र समेत पठाएका थिए । 

तर, सोमबार जनमतको अवरोधका बाबजुद उपेन्द्रले उक्त विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् । त्यसक्रममा जनमतका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको छ । 

झडपमा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरू सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका छन् । शिक्षामन्त्री यादव जनमतका हुन् । 

विश्वविद्यालय सप्तरी–२ निर्वाचन क्षेत्रमा छ । सो क्षेत्रबाट २०७९ मङ्सिर ४ गते भएको संसदीय निर्वाचनमा उपेन्द्र सिके राउतसँग पराजित भएका थिए । सोही कारण उक्त क्षेत्रमा उपेन्द्र आफ्नो प्रभाव जमाउन चाहन्छन् भने सिके राउत उपेन्द्रको प्रभावमुक्त बनाउने प्रयासमा छन् ।  

मङ्सिर चारको निर्वाचनमा सप्तरी–२ मा सिके राउतले पराजित गरेपनि उपेन्द्र उपनिर्वाचनको जस्केलोबाट संसद् छरिसकेका छन् । तर, सिके राउतसँगको हारले मधेसका हस्तीका रूपमा लिइने उपेन्द्रको छविमा भने धक्का लागेको छ । 

उपेन्द्र र सिके राउतको राजनीतिक टक्कर पुरानै हो । तर, गत संसदीय निर्वाचनबाट छताछुल्ल हुँदै आएको छ । मधेस आन्दोलनताका अमेरिका छाडेर मधेस राजनीतिमा सिके राउतको आगमन भएको थियो । त्यसबेलादेखि नै उपेन्द्र र सिकेबीच टकराब हुँदै आएको छ । 
२०७५ फागुन २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतसँग वार्ता गरेर उनलाई मूलधारको राजनीतिमा ल्याएका थिए । त्यतिबेला जसपाका अध्यक्ष उपेन्द्र ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए । 

ओलीले सिके राउतलाई यसरी महत्त्व दिएर मूलधारमा ल्याउँदा उपेन्द्रलाई मन परेको थिएन । उपेन्द्र त्यसको विरोध पनि गरेका थिए । त्यतिबेला उपेन्द्रलाई नै कमजोर बनाउन ओलीले सिके राउतलाई मूलधारमा ल्याएको टिप्पणी समेत भएको थियो । 

सिके राउतले २०६९ देखि स्वतन्त्र मधेसका लागि आन्दोलन गर्दै आएका थिए । त्यसबेलादेखि नै सिकेको टार्गेटमा उपेन्द्र परेका थिए । उपेन्द्रले स्वायत्त मधेस एक प्रदेश माग गर्दा सिकेले त्यसको विरोध गरेका थिए । उनले स्वायत्त मधेस होइन, स्वतन्त्र मधेसको नारा लगाएका थिए ।

उपेन्द्र र सिके राउत एउटै जिल्लाका मात्र होइन, दुवै जना एउटै पालिकाका पनि हुन् । तर यी दुईबीचमा कहिल्यै राम्रो सम्बन्ध भने हुन सकेन ।

सिके राउत उपेन्द्रलाई मधेशको राजनीतिबाट पाखा लगाएर आफू स्थापित हुन चाहन्छन् । जनमत जसपालाई कमजोर नपारेसम्म मधेसमा बलियो हुन नसकिने विश्लेषणका साथ अघि बढीरहेको छ । 

यता, जसपाले पनि आफ्नो प्रतिस्पर्धी जनमत पार्टीलाई नै देखेको छ । जसपा मधेस आन्दोलनबाट जन्मेको र मधेस आन्दोलन गरेर शक्तिशाली बनेको पार्टी हो । मधेसमा जसपालाई कमजोर नगरेसम्म आफूहरूले ठाउँ पाउने सम्भावना हुँदैन भनेर नै जनमतले आफ्नो सारा शक्ति जसपाको विरोधमा लगाउँदै आएको छ । 

एउटा सामाजिक संस्थाबाट मधेसमा आन्दोलन सुरु गरेका उपेन्द्रले त्यतिकै राजनीतिक स्पेश बनाएका होइनन् । उनले पनि सिकेजस्तै क्रान्तिकारी भाषण गर्थे, युवामा जोस भर्थे र सडकमा ओराल्थे । 

अहिले सिके राउतले पनि उपेन्द्र यादवकै बाटो पछ्याउँदै यहाँसम्मको यात्रा तय गरेका छन् । उपेन्द्रले सद्भावना पार्टीलाई रिप्लेस गरेर आफ्नो स्पेश बनाए, अहिले जनमत पार्टीले जसपालाई रिप्लेस गरेर आफ्नो स्पेश बनाउन लागेका छन् । यसमा सिके राउत कतिसम्म सफल होलान् ? त्यो भने प्रतीक्षाको विषय बनेको छ । 

प्रतिक्रिया दिनुहोस्