Logo
Logo

प्रहरीभित्र रोकिएन भ्रष्टाचार श्रृङखला 


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २३ फागुन । 
प्रहरीभित्र सुधार भइरहेको बताइएपनि भ्रष्टाचारका घटना पनि रोकिएका छैनन् । पछिल्लो पटक सुन काण्ड र हुन्डी काण्ड बाहिर आएको छ । अख्तियारले २० भन्दा धेरै प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सुन लुट्ने, हुन्डी कारोबारीसँग १० लाख लिने तथा चेकिङका क्रममा घुस लिने प्रहरीहरु यतीबेला आयोगको हिरासतमा छन् ।


सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्स्पेक्टर खेम नेपालसहित १६ प्रहरीमाथि यतीबेला छानबिन भइरहेको छ । अख्तियारकै पत्रअनुसार उनीहरूलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ । इन्स्पेक्टर नेपालसहित प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई अख्तियारले हिरासतमा लिएको छ ।
प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रीता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठको पनि यसमा मिलेतो भएकाले पक्राउ परेका हुन् । उनीहरू सबैलाई केही दिनअघि नै जिम्मेवारीबाट हटाएर दंगा नियन्त्रण गण हेटौँडामा राखिएको थियो । अख्तियारको पत्रअनुसार प्रहरीले उनीहरूलाई बुझाएको हो ।
गत ११ पुसमा केरुङबाट नेपाल आउँदै गरेका सवारी जाँचका क्रममा प्रहरीले ना६ख ४९३२ नम्बरको कन्टेनरबाट चार सय २२ ग्राम सुन बरामद गरेको थियो । गाडीका चालकले नै यस सम्बन्धमा माथिल्लो निकायमा सूचना दिएपछि घटना बाहिर आएको हो ।

सुरुमा बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी किशोरकुमार दाहाल नेतृत्वको समितिले छानबिन गरेको थियो । सोही छानबिन प्रतिवेदनका आधारमा अख्तियारले थप अनुसन्धान अघि बढाएको हो । बरामद सुन उनीहरूले काठमाडौंको सुन पसलमा बिक्री गरेर पैसा बाँडेर लिएका हुन् ।
त्यस्तै हुन्डी कारोबारीलाई २० लाख रुपैयाँसहित पक्राउ गरेर १० लाख लिई छाडिदिने पर्साका तीन प्रहरी पनि यतीबेला छानबिनमा छन् ।
इनर्वा चौकीका असई पूर्णबहादुर तामाङ, हवल्दार विष्णु दयाल चौधरी र जवान राजकुमार गुरुङ पक्राउ परेका हुन् । उनीहरुले एक भारतीयलाई अवैध २० लाख रुपैयाँसहित पक्राउ गरेकोमा माथिल्लो निकायमा जानकारी नदिई बाँडीचुँडी लिएका थिए । एक प्रहरी जवानले नै उजुरी गरेपछि घटना बाहिर आएको हो । पक्राउ परेकाहरु पर्साका तत्कालिन एसपी सोमेन्द्रसिंह राठौरका विश्वासपात्र घुुमुवा थिए ।
पछिल्लो समय घुससहित प्रहरी पक्राउ गर्ने क्रम पनि बढेको छ । खासगरी तराईका जिल्लाहरुमा सेटिङमा तस्करीको धन्दामा प्रहरीहरु सक्रिय छन् । हाकिमहरुले नै घुुमुवाका रुपमा खटाएर यसरी पैसा उठाउने गरेका छन् ।
गत साता मात्र अख्तियारले पूर्व डिआईजी महेशबिक्रम शाहसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सुडानकाण्डपछि प्रहरीमा सुधार भएको बताइएपछि खरिदमा अनियमितता रोकिएको छैन । सर्वेन्द्र खनालको कार्यकालमा करिब डेढ अर्ब खरिदको आयोगले अनुसन्धान गरिरहेको छ । एसएसपी दीपक थापामार्फत सेटिङ मिलाएर अनियमितता भएको थियो ।
त्यस्तै, अहिलेका महानिरीक्षक ठाकुर ज्ञवालीले पनि खरिदमा चासो दिएर धमाधम टेन्डरका सूचना निकालेका छन् ।

प्रतिक्रिया दिनुहोस्