काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध संसद्को राज्य व्यवस्था समिति र सभामुख सभामुख देवराज घिमिरेसमक्ष उजुरी परेको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेविरूद्ध सिन्धुलीका युवराज सफलले छानबिनको माग गर्दै मंगलबार उजुरी दिएका हुन् ।

उनले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिएका हुन् ।
‘३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता के कसरी भएको हो ? सो को निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक पर्ने भएको छ’, सफलले लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग समेत गरेका छन् ।
यसै प्रकरणमा सफलले यसअघि लामिछाने र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईविरुद्ध सहकारी विभागमा उजुरी दिएका थिए ।
सफलले सहकारीबाट लिखित सम्झौताबिना कर्जा लिएको भए संगठित अपराध, जालसाजी, षड्यन्त्र गरी सहकारीको पैसा हिनामिना गरेको विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पत्राचार गर्न माग गरेका छन्।
सफलले यसअघि पनि लामिछानेको नागरिकताका विषयमा मुद्दा दायर गरेका थिए । उनकै मुद्दाको कारण लामिछानेको नागरिकता खारेज भएको थियो भने सांसद पद पनि गएको थियो । मुद्दा हारेपछि फेरि नागरिकता लिएका लामिछाने उपनिर्वाचनबाट दोस्रोपटक संसद् प्रवेश गरेका थिए ।














