काठमाडौं । अजित मिजारको हत्याविरुद्ध क्रान्तिकारी दलित राजनीतिक संगठनहरूले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चले मंगलबार काठमाडौमा संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
अन्तरजातीय विवाह गर्दा असार ०७३ मा मारिएका काभ्रेका अजितको शव अझै टिचिङ अस्पतालमा छ। तर, अझै उनको परिवारले न्याय र दोषीले सजाय पाउन सकेका छैनन् । सोही सन्दर्भमा क्रान्तिकारी दलित राजनीतिक संगठनहरूले संयुक्त रूपमा आन्दोलन गर्न लागेका हुन् ।
यसअघि उनीहरूले माघ ६ गते मिजारको न्यायको लागि संघर्षरत कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए । पहिलो चरणमा माघ १५ गते अन्तर्क्रिरया कार्यक्रम गर्ने उनीहरूको योजना छ। त्यसपछि माघ २० देखि २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र माघ ३० गते प्रदर्शन गर्ने उनीहरूको घोषणा छ ।
दोस्रो चरणको आन्दोलन भने माघ ३० गते सार्वजनिक गर्ने जात व्यवस्था उन्मूलन मोर्चा नेपालकी अध्यक्षमण्डल सदस्य शान्ति गजमेरले जानकारी दिए ।
अजित मिजारको मुद्दा दोहोर्याई पाऊँ भनेर सर्वोच्चमा परेको निवेदनमा आगामी फागुन पहिलो साता पेसी तोकिएको छ। सोही सन्दर्भमा अजित मिजारको न्यायका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । यसका अलावा दलित अधिकारकर्मीहरूले पनि अजित मिजारको न्यायका लागि आन्दोलन गर्ने तयारी गरेका छन् ।
जात व्यवस्थामा आधारित न्यायालय, स्वास्थ्य क्षेत्र र प्रशासनिक क्षेत्रहरूमा एकात्मक ब्राह्मणवादी चिन्तन र प्रवृत्तिका कारण अजित मिजारको परिवारले न्याय पाउन नसकेको गजमेरले बताए ।