सिन्धुली । सिन्धुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार राति सिन्धुलीको भिमानमा प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालका अनुसार डगाबाट भिमानतर्फ जाँदै गरेको उक्त ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट बा ५८ प ९१४१ नम्बरमा सवार रौतहटको गुजरा नगरपालिका–२ का ६३ वर्षीय रणे तामाङ र ना ११ प ५७५ मोटरसाइकलका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ६३ वर्षीय विष्णुबहाजुर थिङ घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकामा साढे ८ बजे तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका थिङ उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
ट्याक्टर चालक पुष्पलाल अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरस्ले जनाएको छ ।














