काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ । साथै, चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
त्यस्तै, शुक्रबार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।














