
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको बताएका छन् । शुक्रबार भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युतीय गाडीलाई दिइएको छुटका कारण लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताएका हुन् ।
राजस्वको दृष्टिकोणबाट सरकार धेरै दबाबमा रहेको उनको भनाई थियो । उनले भने, ‘पछिल्लो समय राजस्व केही वृद्धि भए पनि संरचनामा परिवर्तन भएको छ । विद्युतीय सवारीसाधनको आयात पेट्रोलियम सवारीको भन्दा दोब्बर बढी भएको छ । पेट्रोलियम सवारीसाधनको तुलनामा विद्युतीय गाडीलाई दिइएको छुटले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजस्व उठेको छ ।’
यो लक्ष्यप्राप्तिका लागि आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनले बताए । ‘धेरै व्यवसाय डिजिटलबेस भएको छ । हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यही अनुसार नढाल्ने हो भने त्यसलाई क्याप्चर गर्न सक्दैनौं । त्यसबाट प्राप्त हुने जुन राजस्व छ, त्यो लिन हामी सक्दैनौँ । यसमा आन्तरिक राजस्व कार्यालय अझ अगाडि बढ्नुपर्ने अवस्था छ। त्यस्तै, भन्सार कार्यालयले पनि आफूलाई एकदमै अपडेट गरेर लैजानुपर्नेछ,’ उनले भने ।














