Logo
Logo

ढोरपाटनका मेयर देवकुमारविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी


378
Shares

काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी भएको छ । ठगी प्रकरणमा नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले मेयर देवकुमारविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीम ढकालले बताए ।

रेड नोटिस जारी भएसँगै प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलका १९६ सदस्य राष्ट्रले अब नेपालीको खोजी गरी नेपाल फिर्ता पठाउने छ । बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका नेपालीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । नेकपा एमालेबाट २ पटक मेयरमा निर्वाचित भएका नेपालीले आफू संस्थापक अध्यक्ष रहेको सहकारीले करोडौं रुपैयाँ ठगी गरेको पाइएको थियो । यो सहकारीको बागलुङ बजारमा मुख्य कार्यालय रहेको छ ।

मेयर नेपालीसँगै सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र झगबहादुर शाही प्रहरीको खोजी सूचीमा थिए ।

उनीहरुमध्ये कोषाध्यक्ष लक्ष्मीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार ललितपुरको धोबिघाटबाट पक्राउ गरेको थियो । पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङलाई जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

सरिता तिमल्सेना (कँडेल)सहितको जाहेरीको आधारमा उक्त सहकारीका मेयर नेपालीसहित ८ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारी भएकाहरुमध्ये अझै ७ जना फरार रहेको प्रहरीले जनाएको छ ।

मेयर नेपालीले बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ । उनी भारतमा हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्