काठमाडौंं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन् ।
उनले प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले ९ माघदेखि मौन अवधि तोके पनि दलहरुले त्यसको पालना नगरेकोमा गुनासो गरे । थपलियाको गुनासो त्यतिमा मात्र सिमित भएन । राष्ट्रिय सभा निर्वाचनमा कतिपय जनप्रतिनिधिले मताधिकारको प्रयोग नगरेकोमा पनि थपलियाले गुनासो गरे ।
उनले राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा आयोजना गरेको चियापान कार्यक्रमप्रति पनि असन्तुष्टि जनाए ।
नेता शेखर कोइरालाले १० माघमा विराटनगरस्थित आफ्नो निवासमा चियापान आयोजना गरेका थिए । उक्त चियापानमा गठबन्धनका नेता–कार्यकर्ता कोइराला निवास पुगेका थिए । शेखरले चियापान गरेकै दिन अर्को स्थानमा एमाले–राप्रपाका नेताहरु पनि चियापानका लागि विराटनगरमा जुटेका थिए ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेका थिएनन् ।
निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने क्रममा प्रमुख आयुक्त थपलियाले मत बदर हुनु दुर्भाग्य भएको पनि बताएका थिए । कोशी प्रदेशमा मत बदर भएको थियो ।