Logo
Logo

अदालतबाट भागेका थुनुवालाई सघाउने तीन जनाविरुद्ध मुद्दा चलाइयो


3.8k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरबाट भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कासहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । हत्कडीसहित भाग्ने खड्कासहित हत्कडी खोल्ने तथा फरार भएका थुनुवालाई राखेको आरोपमा प्रहरीले उनीसहित ४ जनाविरुद्ध मुद्दा चलाएको हो ।

हत्कडीसहित फरार भएर भोलिपल्टै पक्राउ परेका सिन्धुपाल्चोकको बाह्रबिसे–२ घर भएका ३२ वर्षीय खड्कासँगै बाह्रबिसे–३ का १८ वर्षीय पारस तामाङ, बाह्रबिसे–४ का २५ वर्षीय मोहनबहादुर तामाङ र बाह्रबिसे–५ का १९ वर्षीय रोनिष तामाङविरुद्ध मुद्दा चलाइएको छ । थुनुवा भाग्न/भगाउन नहुने कसुरमा उनीहरुविरुद्ध मुद्दा चलाइएको हो ।

थुनछेक बहसका लागि अदालत उपस्थित गराइएका थुनुवा खड्का प्रहरीलाई छक्याएर अफलाइन पठाओ चढेर हत्कडीसहित भागेका थिए । त्यसपछि भक्तपुरको चाँगुनारायण–१ शान्तिनगरस्थित मोहनको कोठामा पुगेका उनको चम्चाको सहायताले साथीहरुले हत्कडी खोलिदिएका थिए । उक्त कोठाको ठस्टबिनबाट थुनुवा लेखिएको ज्याकेट र हत्कडी समेत प्रहरीले बरामद गरेको थियो ।

खड्का भने उक्त कोठाबाट जडिबुटीस्थित दोलखाली होटलमा गएर बसेका थिए । सोही होटलबाट प्रहरीले खड्कालाई फरार भएको भोलिपल्टै पक्राउ गरेको थियो । खड्काविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १०१ को थुनाबाट भाग्न नहुने अन्तगर्तको कसुरमा र अन्य ३ जनाको हकमा संहिताको दफा १०२ अन्तर्गतको थुनाबाट भगाउन नहुने अन्तगर्तको कसुरमा मुद्दा दायर गरिएको छ ।

दफा १०१ अनुसार खड्काविरुद्ध ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ । दफा १०२ अन्तर्गत बाँकी तीनलाई सोही बराबर अर्थात ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । सोही अनुसार कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्